राहत सामग्रीसहित भूकम्पप्रभावित क्षेत्र जाँदै रास्वपा टोली

बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दिया विभिन्न राहत सामग्री लिएर जाजरकोट र पश्चिम रुकुमका भूकम्पप्रभावित क्षेत्रतिर जाँदै छ । रास्वपाले शनिबार बर्दियाका विभिन्न स्थानमा भूकम्पपीडितहरुका लागि सहयोगार्थ राहत सामग्री संकलन गरेको थियो । आजै साँझसम्म टोली प्रभावित क्षेत्रतिर जाने राष्ट्रिय स्वतन्त्र पार्टीका बर्दिया जिल्ला अध्यक्ष विपीन पौडेलले जानकारी दिए ।

करिब दुई लाख रुपैयाँभन्दा बढीको राहत सामग्री लिएर रास्वपा टोली भूकम्पप्रभावित क्षेत्रतिर जान लागेको पौडेलले बताए । ‘तत्काल जे जति संकलन गर्न सकियो त्यो लिएर पहिलो चरणमा एक टोली प्रभावित क्षेत्रतिर जाँदै छौँ,’ अध्यक्ष पौडेलले भने, ‘यहाँ थप राहत सामग्री संकलनको काम हुँदै गर्छ ।’

अध्यक्ष पौडेलको नेतृत्वमा रास्वपा टोली त्यसतर्फ जान लागेको हो । रास्वपाले बर्दिया जिल्लाका गुलरिया, बाँसगढी, भुरिगाउँ, मैनापोखरलगायतका क्षेत्रमा नुन, तेल, दाल, चामल, चिउरा, भुजालगायतका अत्यावश्यक खाद्य सामग्री तथा ब्ल्यांकेट, टेन्टलगायतका सामग्री संकलन गरेको थियो ।

शनिबार बिहानैदेखि रास्वपा टोली राहत संकलनका लागि जुटेको थियो । ‘हतार हतार संकलन गर्दा पनि दुई लाखभन्दा बढीको सामग्री संकलन गर्न सफल भयौँ,’ रास्वपा सदस्य तथा समाजसेवी होमनाथ अधिकारीले भने, ‘यहाँ भएका साथीले राहत संकलनलाई निरन्तरता दिनेछौँ ।’

प्रभावित क्षेत्रमै पुगेर पीडितहरूलाई राहत सामग्री हस्तान्तरण गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

शुक्रबार मध्यराति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १ सय ३० जनाभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । सामान्य घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज तथा कोहलपुर ल्याइएको छ । भूकम्पका कारण सयौँ घर भत्किएका छन् भने हजारौँ नागरिक विस्थापित भएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणको काम जारी छ ।

 

तपाईको प्रतिक्रिया