कोहलपुर । नेपाल पूर्वप्रहरी संगठन जिल्ला कार्यसमिति बाँकेले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूलाई राहत सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरी संगठनका अध्यक्ष पूर्वप्रहरी निरीक्षक गंगाबहादुर अधिकारीलगायतका पूर्वप्रहरी कर्मचारीहरूले ९१ हजारबराबरको चेक बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई हस्तान्तरण गरेका हुन् ।
संगठनमा आबद्ध सदस्यहरूबाट संकलित रकम ‘भूकम्प प्रभावित राहत कोष जाजरकोट २०८०’ को खातामार्फत भूकम्पपीडितहरूले पाउने गरी प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको संगठनका अध्यक्ष अधिकारीले बताए । संगठनका वरिष्ठ सल्लाहकार पूर्व प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले पूर्वप्रहरी कर्मचारीहरूले यस संकटको घडीमा भूकम्पपीडितहरूलाई सहयोग गर्ने शुभेच्छा राखी आफ्नो खाइपाई आएको पेन्सनबाट राहत रकम जुटाइएको बताए ।
प्रमुख जिल्ला अधिकारी पोख्रेलले राहत रकमको चेक ग्रहण गर्दै आज खातामा जम्मा गरी पीडितहरूले पाउने गरी व्यवस्था मिलाउने बताएका थिए । उनले राज्यलाई परेको दुखका समयमा स्वस्फूर्त नेपाल पूर्वप्रहरी संगठन बाँकेले गरेको यस सत्कर्मका लागि धन्यवाद दिएका थिए ।
नेपाल संवाद । २२ कार्तिक २०८०, बुधबार १५:०६