दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाले राजश्व प्रशासन सुधारकाका लागि सुझाव मागेको छ । गाउँपालिकाको राजश्व परामर्श समितिले वार्षिक बजेट तथा राजश्व नीति तथा कार्यक्रम तर्जुमा गर्न सबै वर्ग क्षेत्रबाट सुझाव संकलन गरि विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका बारेमा गाउँपालिकालाई सुझाव दिँदै आएको छ ।
सोहि सन्दर्भमा गाउँपालिकाका उपाध्यक्ष एवं राजश्व परामर्श समिति संयोजक कलावती न्यौपानेको अध्यक्षतामा बसेको बैठकले राजश्व प्रशासन सुधारका लागि सुझाव मागेको हो ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक ऐन तथा बजेट तर्जुमाका लागि विद्यमान राजश्व नीति, कर र गैरकर तथा राजश्व चुहावट नियन्त्रणका समग्र राजश्व प्रशासन सुधारका लागि सुझाव मागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए । गाउँपालिकामा पत्राचार गरेर वा गाउँपालिकाका इमेलमा सुझावहरु पठाउन सकिने प्रमुख प्रशासकीय अधिकृत डिसीको भनाई छ ।
नेपाल संवाद । २७ जेष्ठ २०८०, शनिबार १७:३३