मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन महिला, दुई बालिका र पाँच पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट तीन वर्षीय एक बालकलाई भने जीवितै उद्धार गरिएको छ ।

मृत्यु हुने सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनीहरू छठपर्व मनाउन घर फर्किंदै थिए। गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार दुर्घटनामा एउटै वडाका १० जनाको मृत्यु भएपछि सुन्दरपुर शोकमा डुबेको छ ।

‘छठपर्व मनाउन आउँदै रहेछन्, सबै दुर्घटनामा परे । अत्यन्तै दुःखद घटना भयो,’ अध्यक्ष यादवले भने, ‘मृत्यु हुनेमा दसैजना एउटै वडा नम्बर ४ का रहेका छन् ।’

दुर्घटनामा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट सर्लाहीका यात्रु लिएर छठपर्व मनाउन घरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस हेटौंडा-भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको हो । माइक्रो सडकबाट करिब सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरतर्फ पर्छ । भिरालो र दुर्गम क्षेत्रमा दुर्घटना भएकाले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण तथा कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।