मकवानपुर । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नयाँ वर्षका रूपमा मनाइने नेपाल संवत्को अवसरमा नेवार समुदायले आज म्हः (आत्म) पूजा समेत गर्दैछन् ।

नेपाल संवत् नेवार समुदायको मौलिक नयाँ वर्षका रूपमा विशेष महत्वका साथ मनाइन्छ । यस अवसरमा काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाक्लो बसोबास रहेका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको छ ।

इतिहासअनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले विक्रम संवत् ९३७ अर्थात् सन् ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए । सामाजिक सेवामार्फत जनताको ऋणमोचन गराएको योगदानको उच्च मूल्यांकन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा विसं २०५६ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको मानिने नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो । नेपालको नामबाट नामकरण गरिएको यस संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको इतिहासमा उल्लेख छ । नेपालमा शक संवत् प्रचलनमा रहेको अवस्थामा नेपाल संवत्को सुरुआत भएको मानिन्छ ।

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन २००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको थियो । २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए ।

काठमाडौंमा नेपाल संवत्को नयाँ वर्षसँगै पुरानो बहीखाता बन्द गरी नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि छ । कार्तिक कृष्ण औँसीका दिन पुरानो हिसाबकिताब बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा व्यापारी समुदायमा अझै कायम छ ।

नयाँ वर्षको अवसरमा नेवार समुदायले म्हः पूजा पनि गर्ने गर्छ । म्हः पूजामा आफ्नै शरीर तथा आत्माको पूजा गरिन्छ । धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार मानिसको आत्मालाई सबैभन्दा महत्वपूर्ण मानिने भएकाले आत्माको पूजा गर्ने परम्परा बसेको हो । आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवतासमेत प्रसन्न भई आशीर्वाद दिने र मानव जीवन सार्थक हुने धार्मिक विश्वास छ ।

यस वर्ष प्रतिपदा तिथि सोमबार र मंगलबार दुई दिन परेकाले नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थानमा भिन्नता देखिएको छ । कतिपय स्थानमा सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका केही समूहले मंगलबार म्हः पूजा गर्दैछन् ।