मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ सामरीस्थित हेटौंडा–भैंसे सडकखण्डमा पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार दिउँसो करिब ४ बजेर ५० मिनेटको समयमा हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको बा प्र ०१–०३२ च ०१४१ नम्बरको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा ४७ प ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले साँझ ५ बजेर १० मिनेटमा मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोक निवासी करिब ४२ वर्षीय विनोद लामा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र पिकअप चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ। मृतकको शव हेटौंडा अस्पतालमै रहेको प्रहरीले जनाएको छ।















