चाडपर्वको मुखमा किनमेल गर्ने उपभोक्ता हेटौंडाका बजारमा ठगिएको गुनासो बढेको छ। कपडा, जुत्तादेखि दशैंका लागि आवश्यक खाद्यान्नका सामान खरिद गर्दासम्म उपभोक्ताले पसलैपिच्छे फरक मूल्य तिर्नुपर्ने र गुणस्तरीय सामान नपाउने समस्या भोग्नुपरेको बताएका छन्।

दशैंलाई लक्षित गर्दै बजारमा किनमेल गर्ने उपभोक्ताले एउटै प्रकृतिका सामानको मूल्य पसलअनुसार फरक पाउने गरेको गुनासो गरेका छन्। बजारमा मूल्यमा एकरूपता नहुँदा र गुणस्तरअनुसारको सामान नपाउँदा उपभोक्ता मारमा परेको उनीहरूको भनाइ छ।

मकवानपुरगढीबाट छोराछोरीका लागि कपडा खरिद गर्न हेटौंडा आएकी उर्मिला सापकोटाले कपडा पसलैपिच्छे मूल्य फरक पाउने गरेको बताइन्। बजारमा सामानको मूल्य र गुणस्तरबीच तालमेल नहुँदा उपभोक्तालाई कुन पसलबाट सामान खरिद गर्ने भन्ने अन्योल हुने गरेको उनको भनाइ छ।

त्यस्तै, हेटौंडा उपमहानगरपालिका हटियाका उपभोक्ता उमेश घिमिरेले पनि दशैंका लागि खाद्यान्न खरिद गर्दा ठगिएको गुनासो गरेका छन्। खाद्यान्नका सामानको मूल्य पसलअनुसार फरक हुने र आफूले तिरेको मूल्यअनुसारको गुणस्तरीय सामान नपाउने समस्या रहेको उनीहरूले बताएका छन्।

चाडपर्वका बेला उपभोक्ताको चहलपहल बढ्ने र घरायसी सामानको माग उच्च हुने अवसरमा बजारमा मूल्य तथा गुणस्तरको समस्या देखिएको उपभोक्ताको गुनासो छ। दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडासम्म खरिद गर्दा उपभोक्ताले वास्तविक मूल्य र गुणस्तरबारे सहजै जानकारी पाउन नसकेको उनीहरूको भनाइ छ।

उपभोक्ताले बजारमा मूल्यसूचीको प्रभावकारी कार्यान्वयन, सामानको गुणस्तर जाँच तथा नियमित अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाई कृत्रिम मूल्यवृद्धि, गुणस्तरहीन सामानको बिक्री तथा उपभोक्तामाथि हुने सम्भावित ठगी नियन्त्रण गर्नुपर्ने उनीहरूको भनाइ छ।