नेपाली कांग्रेस थाहा नगर समितिको आयोजनामा नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

थाहा नगर समितिका सभापति राजेन्द्रभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका
जिल्ला तहका नेताहरू, स्थानीय जनप्रतिनिधि उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं विशिष्ट नेताहरूले नेपाली चाडपर्वहरूले सामाजिक एकता, भ्रातृत्व र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। हालै सम्पन्न पार्टीको १५ औं महाधिवेशन र नयाँ नेतृत्व चयन पश्चात् पार्टीमा नयाँ उत्साह थपिएको चर्चा गर्दै नेताहरूले थाहा नगरको समग्र विकास, कृषि, पर्यटन र पूर्वाधार निर्माणमा नेपाली कांग्रेसले सधैं नेतृत्वदायी र रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

यस्तै, थाहा नगरपालिकाका उपप्रमुख एवं कांग्रेस नेता भरत गोपालीले स्थानीय सरकार मार्फत नगरवासीका जनभावना अनुरूपका कामहरू अघि बढिरहेको र आगामी दिनमा झनै प्रभावकारी ढंगले जनताको सेवामा लाग्ने बताए।

कार्यक्रमका सभापति एवं नगर सभापति राजेन्द्रभक्त श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, पार्टीका साथीहरू तथा नगरवासी दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिँदै सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको मङ्गलमय शुभकामना व्यक्त गरे। चाडपर्वको अवसरमा पार्टीले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रमले राजनीतिक दलहरू र आम नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे।