मकवानपुर । शुक्रबार बिहान हेटौँडा–८, भावनामार्गको एउटा घरको ढोका खुल्न सकेको थिएन । घरभित्र के भइरहेको थियो भन्ने कसैलाई थाहा थिएन । चरिमायाको फोन नउठेपछि रामेछापमा रहेका माइती पक्षमा चिन्ता बढेको थियो । उनीहरूले हेटौँडा–९, लामसुरेमा बस्ने शंकर कार्कीकी दिदी भवानी महतलाई खबर गरे । भवानी भाइको घर पुगिन् । तर, ढोका भित्रबाट चुकुल लगाइएको थियो ।

भाइको घरको अवस्था असामान्य लागेपछि भवानीले स्थानीयलाई खबर गरिन् । त्यसपछि प्रहरी घटनास्थल पुग्यो । ढोका फोडेर घरभित्र प्रवेश गर्दा देखिएको दृश्यले घटनालाई थप रहस्यमय बनायो । घरको दोस्रो तलामा ४५–४६ वर्षीय शंकर कार्की झुन्डिएको अवस्थामा मृत फेला परे । उनकी करिब ४० वर्षीया श्रीमती चरिमाया कार्की भने भान्साकोठामा घाइते अवस्थामा भेटिइन् ।

एउटै घरभित्र श्रीमान्को मृत्यु र श्रीमतीको घाइते अवस्थाले घटनाबारे अनेक प्रश्न खडा गरेको छ । तर, ती प्रश्नको जवाफ तत्काल उपलब्ध छैन । के भएको थियो ? चरिमाया कसरी घाइते भइन् ? घरका ढोका भित्र र बाहिरबाट चुकुल लगाइएको अवस्थाको घटनासँग के सम्बन्ध छ ? यी सबै विषय अनुसन्धानकै क्रममा छन् ।

प्रहरीका अनुसार अस्थायी प्रहरी पोस्ट हरियालीबाट प्रहरी सहायक निरीक्षक जादोलालप्रसाद यादवको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । स्थानीय तथा शंकरका दिदी–भिनाजुको रोहवरमा घरको दोस्रो तलाको ढोका फोडेर प्रवेश गर्दा शंकर फलामको डन्डीमा सलको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका थिए । त्यसै घरको भान्साकोठामा चरिमाया घाइते अवस्थामा थिइन् ।

चरिमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको र शुक्रबार बिहान करिब ७ बजे थप उपचारका लागि हेटौँडाबाट चितवनको भरतपुर लगिएको थियो । उनको उपचारसँगै घटनाको वास्तविकता पत्ता लगाउनु पनि अनुसन्धानका लागि महत्वपूर्ण हुने देखिन्छ ।

घटनास्थलमा प्रहरीले रगत लागेको अवस्थामा ढुंगाको लोहोरो र इँटासमेत फेला पारेको छ । ती सामग्री किन र कसरी रगत लागेको अवस्थामा भेटिए भन्ने खुलेको छैन । ती सामग्री घटनासँग सम्बन्धित छन् वा छैनन् भन्ने विषय पनि अनुसन्धानबाटै स्पष्ट हुनेछ । घरभित्रको अवस्थालाई मात्रै आधार बनाएर घटनाको कारण वा जिम्मेवार व्यक्तिबारे निष्कर्ष निकाल्न सकिने अवस्था छैन ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पनि घटनास्थल र अस्पतालसँग सम्बन्धित विवरण संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
अहिले घटनाको केन्द्रमा दुई फरक दृश्य छन्–घरको दोस्रो तलामा मृत भेटिएका शंकर र भान्साकोठामा घाइते अवस्थामा भेटिएकी चरिमाया ।

यी दुई अवस्थाबीचको सम्बन्ध के हो भन्ने प्रश्नको उत्तर नै अनुसन्धानको मुख्य विषय बनेको छ ।
प्रहरीले घटनास्थलमा भेटिएका सामग्री, घरको बनावट र ढोकाको अवस्था तथा घाइते चरिमायासँग सम्बन्धित विवरणका आधारमा अनुसन्धान गरिरहेको छ । शंकरको मृत्युको कारण, चरिमायालाई लागेको चोटको प्रकृति र घटनाअघि घरभित्र के भएको थियो भन्ने तथ्य खुल्न बाँकी छ ।