मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-४, मसिनेमा सञ्चालित चौथो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिताको उपाधि तपोवन एफसीले जितेको छ। सोमबार भएको फाइनलमा हाँडीखोला यूथ क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै तपोवनले प्रतियोगितामा पहिलो सहभागितामै उपाधि जितेको हो।

तपोवनको जितमा विदेशी खेलाडी लिओसले गरेको गोल निर्णायक बन्यो। खेलको सातौँ मिनेटमा कर्नरबाट आएको बललाई लिओसले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाएका थिए। सुरुवाती समयमै गोल खाएको हाँडीखोला यूथ क्लबले त्यसपछि बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।

खेलको दोस्रो हाफमा हाँडीखोलाले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरेको थियो। तर, प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा टोली उपाधिबाट वञ्चित भयो। निर्धारित समयमा थप गोल हुन नसकेपछि लिओसको सुरुवाती गोल नै तपोवनको जितका लागि पर्याप्त बन्यो।
उपाधिसँगै तपोवन एफसीले एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद, ट्रफी र उपाधि प्राप्त गरेको छ। उपविजेता हाँडीखोला यूथ क्लबले ५१ हजार १५१ रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाएको छ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट खेलाडीहरू पुरस्कृत भएका छन्। तपोवनका युवराज लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै, उत्कृष्ट गोलरक्षक तपोवनकै आशिष मोक्तान, उत्कृष्ट मिडफिल्डर तपोवनकै सन्तोष गोङ्बा र उत्कृष्ट प्रशिक्षक तपोवनकै सुमन पाख्रीन घोषित भए।
यसैगरी, हाँडीखोला यूथ क्लबका पुस्कल भट्ट उत्कृष्ट डिफेन्डर र पेम्बा तामाङ उत्कृष्ट फरवार्ड घोषित भए। सर्वोत्कृष्ट खेलाडी लामाले १० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। अन्य विधागत उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाए।

प्रतियोगिताका विजेता, उपविजेता तथा व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर र चैनपुर जेसीजका अध्यक्ष सुरेश गौतमलगायतले पुरस्कार वितरण गरेका थिए।

मनहरी गाउँपालिका-४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा चैनपुर जेसीज मनहरीले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिता फुटबल संयोजक नवराज रिजालको संयोजकत्वमा सञ्चालन गरिएको थियो।

पुरस्कार वितरण कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी गाउँपालिका–३ का वडाध्यक्ष अनन्तप्रकाश अर्याल, वडा नम्बर ४ का वडाध्यक्ष प्रकाश थापा तथा जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।