मकवानपुर । केही दिनदेखिको अविरल वर्षाको कारण हेटौँडा-भीमफेदी-फाखेल-काठमाडौँ सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका-२ किटनीमा वर्षाका कारण सडक भासिएकाले त्यस क्षेत्रमा एकतर्फी बाटो अवरुद्ध भएको छ ।
जोखिमका कारण एकतर्फी यातायात सञ्चालन गर्नसमेत कठिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । सडकमा समस्या भएका कारण चालकलाई सिस्नेरी वा खानीखेत हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको उनले बताए ।
यस्तै, हेटौँडा-भीमफेदी-सिस्नेरी-काठमाडौँ सडकखण्डका तीन स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–२ ज्यालटार, भीमफेदी-६ जुरीखेत र ईन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्सामा अविरल वर्षाका कारण सडक माथिबाट लेदोसहितको पहिरो खसेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । तीनै स्थानमा सडक डिभिजन कार्यालयको टोली पुगेर पहिरो हटाउने काम सुरु गरेको उनको भनाई छ ।
यस्तै, वर्षाका कारण कान्तिलोकपथको मकवानपुरतर्फको सडकखण्ड अहिले सञ्चालनमा रहेको तर, ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे र टाँकुरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीको भनाई छ ।
यता, धरान-चतरा सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका-१६ हटिया बजारदेखि चिसापानीसम्म १० वटा विद्युत् पोल ढलेको छ । पोल ढलेपछि उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार विद्युत् प्राधिकरणसँग समन्वय गरी अवरोध हटाउने काम भइरहेको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी, रजैया नजिकै सडक माथिबाट पहिरो र ढुङ्गा खसेको छ । पहिरोका कारण सडक एकतर्फी प्रभावित भएको थियो । अहिले एकतर्फी यातायात सञ्चालनमा ल्याइएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
त्रिभुवन राजपथ भने हाल सुचारु रहेको प्रहरी नायव उनको भनाई छ ।
यस्तै, प्रहरीले दिएको जानकारी अनुसार कुलेखानी ईन्द्रसरोवर तालको ड्याममा बिहान ६ः३० बजेसम्म पानीको बहाव १ हजार ५२५.१५ क्युसेक रहेको छ ।
















