मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस (इभी) दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये १३ जनाको शव शुक्रबार आफन्तले बुझेका छन्।

दुर्घटनापछि उचित क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा तथा पालनपोषण, मृतक परिवारका सदस्यलाई रोजगारी र दुर्घटनाको निष्पक्ष छानबिनसहित दोषीमाथि कारबाहीको माग राख्दै आफन्तले शव बुझ्न अस्वीकार गरेपछि प्रशासनसँगको सहमतिपछि शव हस्तान्तरण गरिएको हो।

हेटौँडा अस्पतालमा राखिएका १३ शवको पोस्टमार्टमपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग भएको छलफलपछि आफन्तले शव बुझेका हुन्। प्रशासनले पीडित परिवारका माग सम्बोधन गर्न सात दिनभित्र पहल गर्ने सहमति जनाएपछि शव परीक्षण गर्न दिइएको थियो। दुर्घटनामा मृत्यु भएका इभी चालकको शव भने आफन्तले बिहीबार साँझ नै बुझिसकेका थिए।

दुर्घटनामा मधेस प्रदेशको सर्लाहीस्थित चक्रघट्टा गाउँपालिका–४ का १३ जना र वडा नम्बर ८ का एक जनासहित १४ जनाको मृत्यु भएको थियो। एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको दुर्घटनामा छ जना घाइते भएका थिए। हेटौँडा अस्पतालबाट बुझिएका शव शुक्रबार नै सर्लाही लगेर दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

पीडित परिवारका माग सम्बोधनका लागि मधेस प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादव र चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवसमेतले पहल गरेका थिए।

यसैबीच, दुर्घटनाको पृष्ठभूमिमा काठमाडौं जिल्ला प्रशासनले बल्खु–दक्षिणकाली–हेटौँडा रुटमा यात्रुवाहक सवारी सञ्चालनका लागि नयाँ समयसीमा तोकेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अब उक्त रुटका यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारी बेलुका ८ बजेसम्म फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ भने बिहान ५ बजेदेखि मात्रै बल्खुबाट सञ्चालन गर्न पाइनेछ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा यात्रु, चालक र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै समयसीमा र सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ। प्रशासनले साँघुरा, भिराला र घुम्ती सडक, सवारीको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति, रातिको अँध्यारो यात्रा, अत्यधिक कार्यबोझ तथा अनिद्रालाई दुर्घटनाका प्रमुख कारण मानेको छ। मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने गुनासोसमेत प्राप्त भएको प्रशासनले जनाएको छ।

प्रशासनले उक्त रुटका सबै यात्रुवाहक सवारीको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न तथा प्रहरी र ट्राफिक युनिटलाई प्रत्येक सवारी अनिवार्य जाँच गर्ने व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको छ।