मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा १४ जनाको मृत्यु भएपछि घटनाको कारणबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन बुझाउनेछ ।
समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशंकर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन् ।
समितिले दुर्घटनाका विभिन्न पक्षमाथि अनुसन्धान गर्नेछ । सवारी साधनको क्षमताभन्दा बढी यात्रु राखिएको थियो वा थिएन, रूट इजाजतको अवस्था, चालकको अवस्था तथा सडकको भौतिक अवस्थालगायत विषयलाई छानबिनको दायरामा राखिएको छ ।
त्यस्तै, आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकायले अपनाउनुपर्ने सुरक्षा उपायसमेत समितिको प्रतिवेदनमा समेटिने प्रजिअ अधिकारीले बताए ।
भीमफेदी-देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भइसकेको उल्लेख गर्दै अधिकारीले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए । सवारी साधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्न पर्याप्त उपाय नहुने उनको भनाई छ ।
बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको इभी भीमफेदीस्थित चिसापानीगढीबाट करिब ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।










