काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले तिहारका अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वलाई महिला सम्मान र नारी शक्तिको महत्वसँग जोडेका छन् । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा मुख्यमन्त्री थापा मगरले तस्बिरमा सजिएकी लक्ष्मीको पूजा गरेर मात्र नहुने भन्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गरेका छन् ।
‘तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर-समाजकी लक्ष्मीलाई पनि आदर–सम्मान दिनुहोस्,’ उनले भनेका छन् ।
उनले संसारका तीन प्रमुख शक्ति बल, विद्या र धन रहेको उल्लेख गर्दै ती तीनै शक्ति स्त्री स्वरूपमा रहेको बताए । बलकी प्रतीक पार्वती, विद्याकी प्रतीक सरस्वती र धनकी प्रतीक लक्ष्मीको उदाहरण दिँदै उनले नारी शक्तिको महत्त्व उजागर गरेका हुन् । ‘स्त्री शक्ति कमजोर छैन, कमजोर छ त केवल हामीभित्रको दृष्टिकोण र मानसिकता,’ मुख्यमन्त्री थापा मगरले भनेका छन्, ‘त्यसैले आफ्नो मनोबल उच्च राखौँ, स्त्री शक्तिको सम्मान गरौँ ।’
दशैँमा शक्तिको उपासना गरेर पर्व मनाएपछि तिहारमा लक्ष्मीको उपासना गर्ने परम्परालाई स्मरण गराउँदै उनले धार्मिक आस्था र व्यवहारबीच समानता हुनुपर्ने बताए ।
















