मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पछिल्ला चार आर्थिक वर्षमा बालबालिकासँग सम्बन्धित ४४ वटा घटना तथा समस्या रहेको पाइएको छ।
सिविन बाल हेल्पलाइन हेटौँडाले सोमबार पालिकामा स्थानीय बालअधिकार समितिका सदस्यहरुका लागि आयोजना गरेको छलफलमा आर्थिक वर्ष २०८०/०८१ देखि २०८३/०८४ सम्म शैक्षिक सहयोग, बालबालिका हराउने तथा फेला पर्ने, बालविवाह, बालश्रम, अनलाइन दुर्व्यवहारलगायतका घटनाबारे जानकारी गराइएको हो ।
छलफलमा प्रस्तुत तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा बालबालिकासँग सम्बन्धित १४ वटा घटना भएका थिए। त्यसपछि २०८१/०८२ मा १२, २०८२/०८३ मा १३ र २०८३/०८४ मा ५ वटा घटना अभिलेख भएका छन्।
सबैभन्दा बढी शैक्षिक सहयोग तथा पारिवारिक समस्यासँग सम्बन्धित १२ वटा, बालबालिका फेला पर्ने तथा हराउनेसम्बन्धी ११ वटा घटना भएको पाइएको छ भने बालविवाहका ८ वटा घटना भएको बताइएको छ ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा शैक्षिक सहयोग तथा पारिवारिक समस्याका ६, बालबालिका हराउने तथा फेला पर्ने ३ र बालविवाहका २ घटना भएका थिए। सोही वर्ष बालबिज्याइँसम्बन्धी एक तथा जबरजस्ती करणी सम्बन्धी दुई घटना पनि अभिलेख भएका छन्।
आर्थिक वर्ष २०८१/०८२ मा बालविवाहका घटना बढेर ४ पुगेका छन्। बालश्रमका ३, शैक्षिक सहयोग तथा पारिवारिक समस्याका २, बालबालिका हराउने तथा फेला पर्ने एक, अनलाइन दुर्व्यवहार एक र लागूऔषध दुर्रब्यसनसम्बन्धी एक घटना अभिलेख भएका छन्।
त्यस्तै आर्थिक वर्ष २०८२/०८३ मा बालबालिका हराउने तथा फेला पर्ने घटना सबैभन्दा बढी ७ वटा अभिलेख भएका छन्। बालविवाहका २ तथा अनलाइन दुर्व्यवहार, मनोविमर्श तथा परामर्श र खानपान सहयोगसम्बन्धी एक-एक घटना भएको तथ्यांक छ ।
चालु आर्थिक वर्ष २०८३/०८४ मा भने अहिलेसम्म शैक्षिक सहयोग तथा पारिवारिक समस्याका ४ र मनोविमर्श तथा परामर्शसम्बन्धी एक गरी ५ वटा घटना भएको तथ्यांक छ ।
गाउँपालिकामा स्थानीय बालअधिकार समितिका सदस्य एवं सरोकारवालाहरुसँग बालसंरक्षणका विषयमा गरिएको छलफलमा सिविन बालहेल्पलाइन हेटौँडाका प्रबन्धक झविन्द्र ज्ञवालीले सहजीकरण गरेका थिए ।
छलफलमा स्थानीय बालअधिकार समितिको गठन प्रकृया, समितिको कार्यकाल र बैठक सम्बन्धि ब्यवस्था, वडास्तरीय बालअधिकार समितिको गठन
प्रकृया, बालकल्याण अधिकारीको काम, कर्तव्यका विषयमा जानकारी गराइएको थियो ।
यस्तै, छलफलमा बालबालिका सम्बन्धि ऐन २०७५ धारा ४८ मा १३ वटा बुँदामा समेटिएको विशेष संरक्षण आवश्यक भएका बालबालिकाको विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा पालिकाका १ नम्बर वडाका अध्यक्ष समेत रहेका गाउँपालिकाका सामाजिक विकास शाखाका सभापति आइतसिं ल्हो, पालिकाका निमित्त प्रशासकीय अधिकृत सत्यनारायण शाह, श्रम कार्यालय हेर्टौँडाका रुद्र नारायण शाह, पालिकाका महिला तथा बालबालिका शाखाका सावित्री सापकोटा लगायतको उपस्थिती थियो ।
















