बिहानै उठेर काममा जाने,
परिवारको खुसीका लागि दिनरात दुःख गर्ने ।
आफू टाढा परदेशमा भए पनि फोनमा सधैँ मुस्कुराएर बोल्ने ।
हजुरको काखमा बस्न थियो बाबा
यो चाडपर्वहरुसँगै हुन मन थियो बाबा ।’

कक्षा ६ का विद्यार्थी समिक तामाङको आवाजमा यी शब्द निस्किँदा अगाडि बसेका उनका बाबु कुमार एकाएक भावुक बने । आँखाका कुनामा आँसु टल्किए । छोराको कविता सुन्दै गर्दा उनीसँगै वरपरको वातावरण पनि स्तब्धजस्तै भयो ।
समिकले आफ्ना बाबुप्रतिको माया कवितात्मक रुपमा त्यहाँ सुनाउँदै थिए । कवितामा बाबाले परिवारका लागि गरेको दुःख र संघर्षको सन्दर्भ थियो । बिछोडको पीडा थियो । र, त्यही दिन घरबाट बिदा भएर परदेश जान लागेका बाबुलाई रोक्न नसक्ने मनको एउटा आवाज थियो ।

समिकले आफ्ना भावनालाई शब्दमा उतारे-‘आज म खुसी छु कि बाबालाई अगाडि राखेर कविता सुनाउन पाएकोमा । तर म दुःखी पनि छु । किनकि मेरो बाबा आजैका दिन हामीलाई छाडेर टाढाको यात्रा जाँदै हुनुहुन्छ । त्यो यात्राको नाम हो- परदेश ।’

बाबु कुमारका आँखामा आँसु थियो । छोराको आँखामा पनि । केही बेर दुवै एकअर्कालाई हेरे । त्यसपछि बाबु-छोरा अँगालोमा बाँधिए ।
त्यो अँगालोमा एउटा छोराको बाबाप्रतिको माया थियो । बाबुको छोराप्रतिको स्नेह थियो । अनि, परिवारको खुसी र भविष्यका लागि आफ्नै घर, श्रीमती, छोराछोरी र चाडपर्वबाट टाढा हुनुपर्ने बाबुको बाध्यता पनि त्यहाँ देखिन्थ्यो ।
यो दृश्य मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५, पिप्लेमा रहेको ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको एउटा कक्षाकोठाको हो । कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा शुक्रबार विद्यालयका कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना बाबुलाई लिएर त्यहाँ गएका थिए । त्यहाँ उनीहरुले आफ्ना बाबुलाई कविता सुनाउने, लड््डुु खुवाउने, सम्मान गर्ने र आशीर्वाद लिने कार्यक्रम थियो ।

विद्यार्थीका कवितामा बाबुको संघर्ष थियो, परिवारका लागि गरेको दुःख थियो, सन्तानलाई दिएको खुसी थियो । यस्तै, कसैका शब्दमा बाबु जीवनको सहारा थिए । कसैका सिर्जनामा बाबुको माया संसारकै ठूलो सम्पत्ति थियो । कतै बालमनले बाबुको न्यानो काख खोजिरहेको थियो ।

विद्यार्थी साहाना खत्रीले ‘बाबा’ शीर्षकको कविता सुनाइन्–
‘बाबा तिम्रो माया सबैभन्दा अनमोल
योभन्दा ठूलो छैन संसारमा कुनै मोल,
जीवनको हरेक संकटमा तिम्रो सहारा हेर्छन् होला
तिमी नै हो यो मनको अँध्यारो मेटाउने उज्यालो खोला ।’

समिक र साहाना मात्र होइन, ३९ जना विद्यार्थीका सिर्जनामा बाबु फरक-फरक रूपमा उपस्थित थिए । कसैका लागि बाबु मेहनत गर्ने मान्छे थिए । कसैका लागि दुःखमा सहारा । कसैका लागि जीवनको उज्यालो । तर सबैका कविताको केन्द्रमा एउटै कुरा थियो– बाबाप्रतिको माया र सम्मान ।

कविता वाचनपछि विद्यार्थीहरूले आफ्ना बाबु वा आफूसाथै रहेका अभिभावकलाई लड्डु खुवाए । आफ्ना बाबु मात्र होइन, विद्यालयका शिक्षक-शिक्षिका तथा अन्य साथीहरूका बाबुआमाबाट पनि आशीर्वाद लिए । बाबुको दीर्घायु, स्वास्थ्य र सफलताको कामना गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तोष शर्मा भने सुरुमै भावुक बने । उनका आफ्नै बुबा आफूबाट केही टाढा छन् । आफू दुई वर्षदेखि घर जान नसकेको प्रसंग सुनाउँदा उनी भावुक भए । बाबुको सम्झनाले उनको आवाजमा भावनाको कम्पन सुनिन्थ्यो ।
‘आमाले आफ्ना सन्तानका लागि प्रेम गरेको हामी सबैले देख्छौँ । तर, बाबाले गर्नुभएको प्रेम, त्याग हामीले कमैले देखेका हुन्छौँ,’ उनले भने ।
आफू स्वयं बाबु बनेपछि बाबाको प्रेम र त्याग कतिसम्म गहिरो हुँदो रहेछ भन्ने अझ बढी महसुस भएको उनले बताए । बाबाको योगदान सम्झिँदै गर्दा उनी बोल्दाबोल्दै भावुक भए र उनको बोली अवरुद्ध हुन थाल्यो । आफूलाई सम्हाल्दै उनले कार्यक्रमको उद्देश्य सुनाए -‘ आमाका विषयमा धेरै कविता लेखिएका छन् । आमाको माया, त्याग र समर्पण साहित्यमा प्रशस्त अभिव्यक्त भएको छ । तर बाबाको संघर्ष, योगदान र त्यागका विषयमा तुलनात्मक रूपमा कम लेखिने गरेको छ ।’

बाबुको महत्व र सन्तानप्रतिको प्रेमलाई बालबालिकाको सिर्जनामार्फत अभिव्यक्त गराउन कार्यक्रम गरिएको प्रधानाध्यापक शर्माले बताए ।
कुशे औँसी नेपाली समाजमा बाबुप्रति सम्मान, कृतज्ञता र आत्मीयता व्यक्त गर्ने विशेष दिन हो । यस दिन छोराछोरीले बाबुको मुख हेर्ने, मिठाइ तथा फलफूल खुवाउने, नयाँ वस्त्र वा उपहार दिने र बाबुको आशीर्वाद लिने परम्परा छ । बाबु नहुनेहरूले दिवंगत पिताको सम्झना र पितृस्मरण गर्ने चलन पनि छ । ज्ञानोदय बालबाटिकाले यस परम्परालाई बाबुको सम्मानसँगै बालबालिकामा संस्कार र सिर्जनशीलताको विकाससँग जोडेर कार्यक्रम गर्‍यो ।

विद्यालयकी अध्यक्ष दिप्ती महतले यस्ता कार्यक्रमले विद्यार्थीमा संस्कार विकास गर्नुका साथै आफ्ना अभिभावकप्रति सम्मानको भावना बढाउने बताइन् । यस्ता गतिविधिले विद्यार्थीलाई सिर्जनशील बनाउँदै उनीहरूको क्षमता विकासमा समेत टेवा पुर्‍याउने उनको भनाइ छ ।

विद्यालयका संस्थापक श्यामकुमार बानियाँले विद्यार्थीलाई आफ्ना मौलिक चाडपर्व र संस्कृतिबारे जानकारी गराउने उद्देश्यले बाबुलाई समेत विद्यालयमा बोलाएर यस खालको कार्यक्रम गरिएको बताए । ‘कुशे औँसीका अवसरमा बाबुलाई विद्यालयमै बोलाएर आफ्नै सन्तानबाट सम्मान ग्रहण गर्ने वातावरण बनाएका हौँ ।’ उनले भने ।
विद्यार्थीले चाडपर्वबारे किताबमा पढ्ने मात्र होइन, त्यसको संस्कृति र भावनालाई आफैँले अनुभूति गरून् भन्ने विद्यालयको उद्देश्य रहेको उनले बताए । विद्यालयले हरेक वर्ष कुशे औँसीका दिन कक्षा ६ का विद्यार्थीलाई आफ्ना बाबुप्रति सम्मान व्यक्त गर्दै कविता लेखन र वाचन गराउने यस कार्यक्रमलाई निरन्तरता दिने संस्थापक बाँनियाले जोड दिए ।

कार्यक्रम संयोजन गरेकी नेपाली विषयकी शिक्षिका स्वस्तिका दाहाल विद्यार्थीका सिर्जनाबाट खुसी भइन् । आफ्ना अभिभावकप्रति सम्मान व्यक्त गर्दै विद्यार्थीले सुन्दर सिर्जना गरेको उनले बताइन् । सानैदेखि विद्यार्थीलाई यस्ता सिर्जनात्मक कार्यमा अभ्यास गराउन सके मौलिक चाडपर्व र संस्कृतिका बारेमा पढेका कुरा वास्तविक सिकाइमा रूपान्तरण हुने उनको भनाइ छ । बालबालिकाको क्षमता विकासका लागि पनि यस्ता अतिरिक्त क्रियाकलापको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।

नियमित पठनपाठन सुरु हुनुअघि बिहानी समयमा विद्यालयमा कविता मात्र वाचन भएन । त्यहाँ त बाबु र छोराछोरीबीचको सम्बन्ध शब्दमा, आँसुमा अनि अँगालोमा वाचन भए । लड्डुको मिठासमा बाबुप्रतिको सम्मान मिसियो । आशीर्वादमा भविष्यका सपनाहरू जोडिए ।
र, ती सबै दृश्यको केन्द्रमा थिए-बाबु ।