मकवानपुर । नेपलिज युथ फर क्लाइमेट एक्सन, हेटौँडा च्याप्टरले सञ्चालन गर्दै आएको ‘क्लाइमेट भ्यानगार्ड फेलोसिप २०२६’ कार्यक्रमको अनलाइन चरण सफलतापूर्वक सम्पन्न भएको छ। युवा नेतृत्व विकास र स्थानीय जलवायु समाधानलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यस फेलोसिपको यो पहिलो संस्करण थियो, जुन अनलाइन अन्तरक्रियात्मक सिकाइ चरण र प्रत्यक्ष क्याम्प गरी दुई चरणमा संरचित गरिएको छ।
अनलाइन चरण अन्तर्गत एक अभिमुखीकरण सत्रसहित जलवायु परिवर्तन, जैविक विविधता तथा वन संरक्षण, युवा नेतृत्व, जलवायु वकालत तथा नीति, जलवायु पत्रकारिता, जलवायु न्याय, वन शिक्षा तथा करियर मार्गदर्शन र जलवायु कार्य प्रयोगशाला जस्ता विषयमा आठवटा गहन सत्र सञ्चालन भएका थिए।
गत साउन ‘जुलाई १६, २०२६’ मा भएको औपचारिक प्रमाणीकरण तथा समापन समारोहमा अनलाइन चरण सम्पन्न भएको घोषणा गरिएको थियो। कार्यक्रममा सहभागी फेलोहरूमध्ये २० जना फेलोलाई प्रत्यक्ष क्याम्पका लागि छनोट गरिएको छ।
कार्यक्रम नेटवर्क कोअर्डिनेटर कृतिका लौडारीले दिएको जानकारी अनुसार, अनलाइन चरण सम्पन्न भएसँगै अब फेलोसिपको दोस्रो चरण अन्तर्गत छनोट भएका २० फेलो, हेटौँडाभित्रका ३० छनौट युवा तथा खुला सत्रमा २०० युवाका लागि प्रत्यक्ष (इन-पर्सन) क्याम्प आगामी भदौ १९, २० र २१ गते (सेप्टेम्बर ४-६, २०२६) हेटौँडामा आयोजना हुने भएको छ।
क्याम्पलाई हेटौँडा उपमहानगरपालिका, हेटौँडा स्कुल अफ म्यानेजमेन्ट, वागमती प्रदेश कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र वन विज्ञान संकाय, कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहयोगमा आयोजना गरिने हेटौँडा च्याप्टरले जनाएको छ।
आयोजकहरूका अनुसार तीन दिने यो प्रत्यक्ष क्याम्पले फेलोहरूलाई अनलाइन चरणमा प्राप्त ज्ञान र सीपलाई व्यावहारिक जलवायु कार्यमा रूपान्तरण गर्न थप अवसर प्रदान गर्नेछ।












