मकवानपुर । मकवानपुर प्रहरीले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लुकाएर राखिएको खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-५, सानोपोखरा बस्ने ३१ वर्षीया सुष्मा तिमल्सिना रहेकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागूऔषध खैरो हिरोइन लुकाएर राखेको गोप्य सूचना प्राप्त भएको थियो । यही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौँडाबाट संयुक्त रुपमा परिचालित प्रहरी टोलीले तिमल्सिनालाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले मंगलबार राति करिब १२ः१५ बजे तिमल्सिनाको घरमा पुगेर पूरा गरी खानतलासी गर्दा तिमल्सिना सुत्ने कोठाभित्र रहेको कपडा राख्ने स्टिलको दराजमा प्लास्टिकको पुडियामा लुकाएर राखिएको धुलो पदार्थ फेला परेको थियो ।

प्लास्टिक हटाएर शुद्ध तौल गर्दा उक्त पदार्थ ३ ग्राम ८५० मिलिग्राम रहेको थियो । बरामद पदार्थ खैरो हिरोइनजस्तो देखिने धुलो रहेको प्रहरीले जनाएको छ ।

बरामद पदार्थसहित तिमल्सिनालाई नियन्त्रण लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई हिरासतमा राखिएको प्रहरीको भनाई छ ।