मकवानपुर । विश्वभर आज नोभेम्बर १४ मा विश्व मधुमेह दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। मधुमेहबारे जनचेतना अभिवृद्धि, रोगको जोखिम न्यूनीकरण तथा रोकथाम, पहिचान र उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ।

पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। बढी तौल र मोटोपनालाई मधुमेह बढ्नुका प्रमुख कारणमध्ये एक मानिएको छ।

मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो। स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम र सुर्तीजन्य पदार्थको सेवन नगर्ने बानीले टाइप–२ मधुमेहको जोखिम घटाउन सकिने चिकित्सकहरू बताउँछन्।

मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईका अनुसार मधुमेहबाट बच्न र रोग नियन्त्रणमा राख्न स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ। समयमै रोग पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा जटिलताको उचित उपचारबाट मधुमेहका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिन्छ।

टाइप–१ मधुमेह छिटो विकसित हुन सक्ने भए पनि टाइप–२ मधुमेह विस्तारै विकसित हुने र सुरुमा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण महत्वपूर्ण मानिन्छ।

डा.भट्टराईले मोटोपना भएका, परिवारमा मधुमेहको इतिहास भएका तथा कोलेस्ट्रोलको मात्रा उच्च भएका व्यक्तिलाई नियमित परीक्षण गराउन सुझाव दिएका छन्। उनका अनुसार ३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेह परीक्षण गराउनु उपयुक्त हुन्छ।