मकवानपुर । छठ पर्व मनाउन काठमाडौंंबाट सर्लाही फर्किंदै गर्दा मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा दुर्घटनामा परी ज्यान गुमाएका चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १२ जनाको शुक्रबार राति लखन्देह नदी किनारमा सामूहिक अन्त्येष्टि गरिएको छ। एउटै गाउँका १४ जनाको ज्यान गएको दुर्घटनाले सुन्दरपुरलाई शोकमा डुबाएको छ।

दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये चालक रविशंकर मण्डलको शव उनको गाउँ कबिलासी लगेर अन्त्येष्टि गरिएको थियो। सुन्दरपुरकै रामप्रवेश यादवको शव भने उनका परिवारका सदस्य सदरमुकाम मलंगवामा बस्ने भएकाले त्यहीँ लगिएको थियो। बाँकी १२ जनाको शव हेटौँडा अस्पतालमा पोस्टमार्टमपछि शुक्रबार राति सुन्दरपुर ल्याइएको थियो।

हेटौँडाबाट तीनवटा एम्बुलेन्समा शव ल्याइए पनि गाउँसम्म पुर्‍याउन सहज अवस्था थिएन। एकैपटक धेरै आफन्त गुमाएका परिवारजनको अवस्था हेर्दै मधेस प्रदेशका पूर्वसांसद सञ्जय यादवले अन्त्येष्टिस्थल नजिकै एम्बुलेन्स रोक्न लगाएर शोकाकुल परिवारलाई अर्को सवारीमार्फत शवको अन्तिम दर्शन र बिदाइको व्यवस्था मिलाएका थिए।

एम्बुलेन्सबाट शव निकाल्नासाथ आफन्तहरू भक्कानिएका थिए। कतिपय बेहोस भएर ढले भने केहीलाई घरमै स्लाइन दिएर उपचार गर्नुपरेको थियो। अन्तिम संस्कारमा सहभागी हुन सुन्दरपुर आसपासका पाँच गाउँबाट समेत ठूलो संख्यामा मानिस लखन्देह नदी किनार पुगेका थिए।

दुर्घटनामा एउटै परिवारका छ सदस्य गुमाएका अवधेश यादवका लागि अन्तिम बिदाइ झन् पीडादायी बन्यो। उनकी आठ महिनाकी गर्भवती श्रीमती पुनमसहित तीन नातिनी र दुई छोराको मृत्यु भएको थियो। आफ्नै परिवारका सदस्यलाई दागबत्ती दिन अघि बढेका अवधेश पटकपटक भक्कानिँदै रोकिएका थिए। गर्भमा रहेको आठ महिनाको शिशुलाई समेत नजिकै गाडिएको थियो।

अवधेशकी आमा निर्मला देवी यादव पनि परिवारका छ सदस्य गुमाएपछि बेहोस भएकी थिइन्। उनकी बुहारी पुनम, तीन नातिनी र दुई छोराको मृत्यु भएको थियो। निर्मलाको घरमै स्वास्थ्य अवस्था बिग्रिएपछि स्लाइन चढाएर उपचार गरिएको थियो।

सुन्दरपुर गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार एकैपटक धेरै घरमा परेको विपत्तिले गाउँलाई असहाय बनाएको छ। उनका अनुसार छठ पर्व परिवार र आफन्तसँग भेटघाट गरी खुसी साट्ने अवसर भए पनि यसपटक त्यही पर्वका लागि घर फर्किएका परिवारका सदस्यको मृत्युले गाउँको खुसी शोकमा परिणत भएको छ।