मकवानपुर । तिहारपछि नेपाली बजारमा सुनको मूल्य एकैपटक प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार सुनको मूल्य घटेर प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनअनुसार तिहारपछि पहिलोपटक नेपाली बजारमा मूल्य समायोजन गर्दा सुनको भाउमा ठूलो गिरावट आएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७ सय रुपैयाँमा कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
तिहारपछि बजार खुलेसँगै सुन र चाँदी दुवैको मूल्य घटेकाले बहुमूल्य धातु खरिद गर्ने उपभोक्तालाई केही राहत हुने देखिएको छ।








