काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित छठ पर्व मनाउन शनिबार जनकपुरधाम जाने भएका छन्। उनीहरूले जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको गंगासागरमा छठ पर्वका विधि तथा धार्मिक अनुष्ठानमा सहभागी हुने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थल पुग्ने कार्यक्रम छ। त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन्।

दिउँसो २ देखि ४ बजेसम्म उनले पार्टीका विभिन्न तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यसपछि साँझ ५ बजे छठ पर्वको खरना पूजा तथा अन्य विधिको तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्नेछन्।

रास्वपाले लामिछानेको जनकपुर भ्रमणका क्रममा पार्टीसँग समन्वय, सहकार्य र सहभागिताका लागि मधेस प्रदेशअन्तर्गतका सबै तहका पदाधिकारी, सांसद, पार्टी सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेको छ।

लामिछानेले आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मधेसका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम छ। यसक्रममा जनकपुरधामको जानकी मन्दिर, मुखियापट्टीको लक्ष्मीनारायण मन्दिर, महोत्तरीको मठियानीस्थित लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिर, मुजेलियास्थित रामजानकी मन्दिर तथा धनुषाधाम मन्दिर पुग्ने कार्यक्रम तय गरिएको छ।

आइतबार दिउँसो ३ बजे उनी जनकपुरधामस्थित गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन्।

सोमबार बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने छठ पर्वको मुख्य विधिमा सहभागी भएपछि उनी जनकपुर विमानस्थलबाट काठमाडौं फर्कने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।