मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान विद्युतीय माइक्रोबस (इभी) दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच बालबालिकासहित १४ जना घाइते भएका छन्।
काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका अवधेश यादवकी श्रीमती ३५ वर्षीया पुनमदेवी यादव, उनका छोरीहरू १० वर्षीया अनुकुमारी यादव, सात वर्षीया दीक्षा यादव र पाँच वर्षीया दीपिका यादव तथा यादवका दुई भाइ छन्।
दुर्घटनामा माइक्रोबस चालक सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डलको पनि मृत्यु भएको छ। त्यस्तै चक्रघट्टा–४ का २६ वर्षीय विकेश यादव, ३५ वर्षीय गुड्डु यादव, उनकी श्रीमती गायत्रीदेवी यादव, रामदुलार यादव, सुबोध यादव, रोहन यादव, राकेश यादव, छोटु यादव र सुदेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव छन्। घाइतेमध्ये मुकेश यादव, सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्।
गम्भीर घाइते तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुलेको छैन। माइक्रोबस सडकबाट कसरी अनियन्त्रित भएर खस्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।











