मकवानपुर । बागमती प्रदेशका खेतीयोग्य जमिनको माटोमा अम्लीयपनको समस्या बढ्दै गएको देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौँडाले आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म परीक्षण गरेका २० हजार २१२ नमुनामध्ये ८३ प्रतिशतमा अम्लीयपन देखिएको हो ।
प्रदेशका १३ जिल्लाका ११९ वडामा गरिएको माटो परीक्षणबाट यस्तो समस्या देखिएको प्रयोगशालाले जनाएको छ । माटोमा अम्लीयपन बढ्दै जाँदा माटोको गुणस्तर र कृषि उत्पादन क्षमतामा असर पर्न सक्ने भएकाले माटो सुधारका कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने प्रयोगशालाका कार्यालय प्रमुख तथा वरिष्ठ माटोविज्ञ डा. जनार्दन खड्काले जानकारी दिए ।
काठमाडौँ उपत्यकासहित नुवाकोट, धादिङ, मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका व्यावसायिक तरकारी उत्पादन हुने क्षेत्रमा अम्लीयपनको समस्या बढी देखिएको खड्काको भनाई छ । सिन्धुपाल्चोक, दोलखा र रसुवामा भने तुलनात्मक रूपमा यस्तो समस्या कम पाइएको छ ।
वर्षाको पानी, माटो बनेको मूल चट्टान र मानव गतिविधिबाट हुने माटो व्यवस्थापन अम्लीयपन बढ्नुका प्रमुख कारण रहेको डा. खड्काले बताए । माटोको अम्लीयपन मापन गर्न पीएच परीक्षण गर्नुपर्ने र परीक्षणको नतिजाअनुसार कृषि चुन प्रयोग गर्नुपर्ने उनको सुझाव छ । प्राङ्गारिक पदार्थको मात्रा बढाउनुका साथै जैविक तथा सूक्ष्मजीवमा आधारित मल प्रयोग गर्दा पनि माटोको गुणस्तर सुधार गर्न सकिने उनले बताए ।
प्रयोगशालाले आर्थिक वर्ष २०८२/८३ मा एक हजार ५० वटा माटोका नमुना परीक्षण गर्ने लक्ष्य राखेकोमा तीन हजार ४१३ वटा परीक्षण गरेको छ । लक्ष्यभन्दा करिब तीन गुणा बढी नमुना परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ । किसानको खेतबारीमै पुगेर माटोको अवस्था पहिचान गर्ने उद्देश्यले मकवानपुरको इन्द्रसरोवर र धादिङको गजुरीलगायतका क्षेत्रमा घुम्ती माटो परीक्षण शिविरसमेत सञ्चालन गरिएको छ ।
विश्व माटो दिवसका अवसरमा इन्द्रसरोवर गाउँपालिकामा ३११ वटा नमुना परीक्षण गरी माटोको अवस्थाका आधारमा १८ मेट्रिक टन कृषि चुन निःशुल्क वितरण गरिएको थियो । त्यस्तै, कृषि चुनको प्रभावकारिताबारे अध्ययनपछि हेटौँडा उपमहानगरपालिका–१८ का २३८ घरधुरीका किसानलाई ४० मेट्रिक टन कृषि चुन उपलब्ध गराइएको प्रयोगशालाले जनाएको छ ।
माटो सुधारसम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन प्रयोगशालाले स्थानीय तहका कृषि प्राविधिकलाई समेत तालिम दिँदै आएको छ । गत आर्थिक वर्षमा १२ जिल्लाका ४७ स्थानीय तहका ६० जना कृषि प्राविधिकलाई दुई चरणमा तालिम दिइएको थियो । हेटौँडा उपमहानगरपालिका–१७ र १९ का १९७ जना किसानलाई नाइट्रोजन, फस्फोरस तथा जैविक मल र डिकम्पोजर ब्याक्टेरियाको प्रयोगसम्बन्धी जानकारी तथा सामग्री उपलब्ध गराइएको थियो ।
माटोको अवस्थाबारे विस्तृत जानकारी लिन संघीय ससर्त अनुदानअन्तर्गत डिजिटल माटो नक्सा तयार गर्ने कार्यक्रम पनि सञ्चालन भइरहेको छ । यसअन्तर्गत सिन्धुपाल्चोक, मकवानपुर र सिन्धुलीबाट ६६४ वटा नमुना संकलन गरी परीक्षण गरिएको छ ।
प्रयोगशालाले माटोको पीएच, नाइट्रोजन, फस्फोरस, पोटास, जिंक, कपर, म्याङ्गानिज, मोलिब्डेनम, माटोको बनावट तथा रासायनिक र प्राङ्गारिक मलको अवस्थासमेत परीक्षण गर्दै आएको छ । सरकारी कार्यालय तथा सरकारी स्वामित्वका संस्थाबाट आउने नमुना र किसानले स्वयं परीक्षणका लागि ल्याउने नमुनामा ७५ प्रतिशत शुल्क छुट दिइने व्यवस्था छ । अनुसन्धानका लागि विश्वविद्यालय वा विद्यार्थीले सम्बन्धित निकायको सिफारिससहित ल्याएका नमुनामा ५० प्रतिशत छुट उपलब्ध गराइने प्रयोगशालाले जनाएको छ ।













