मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले वडा नं ४ लाई बागमती प्रदेशको राजधानीको मुहारका रूपमा विकास गर्न भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद र सहरी सौन्दर्यकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् ।

हेटौँडास्थित चिल्ड्रेन पार्क टोल विकास संस्थाको २४ औँ साधारणसभाको उद्घाटन गर्दै उनले वडा नं ४ को विकासलाई वडाको सीमाभित्र मात्र सीमित विषयका रूपमा नलिएको बताए । प्रदेश राजधानीको पहिचान र समग्र सहरी विकाससँग जोडिएकाले व्यवस्थित सडक, सुरक्षित बस्ती, हरियाली वातावरण र नागरिकमैत्री पूर्वाधार निर्माणमा ध्यान दिइएको उनको भनाइ छ ।

‘हामी प्रदेश राजधानी बनाइरहेका छौँ । वडा नं ४ केवल एउटा वडा मात्र होइन, बागमती प्रदेशको राजधानीको मुहार पनि हो,’ सिग्देलले भने, ‘त्यसैले उत्कृष्ट प्रदेश राजधानी निर्माण गर्ने लक्ष्यसहित विकासका कामलाई अगाडि बढाइरहेका छौँ ।’

उनका अनुसार सडकमा सवारीसाधन र पैदलयात्रीका लागि छुट्टाछुट्टै सुविधा, भूमिगत ढल प्रणाली, हरित नगरको अवधारणा तथा उज्यालो र सुरक्षित सहर एवं बस्ती निर्माणलाई प्राथमिकता दिइएको छ । सडकको स्तरोन्नति, खुला क्षेत्रको व्यवस्थापन र सार्वजनिक उपयोगका संरचना निर्माणमार्फत वडालाई व्यवस्थित बनाउने प्रयास भइरहेको उनले बताए ।

सिग्देलले आफ्नो कार्यकालमा विभिन्न सार्वजनिक संरचना निर्माण गरिएको जानकारी दिए । उनका अनुसार वडामा विद्यालय भवन, दुईवटा कभर्ड हल, किरियापुत्री भवन, योग भवन, सार्वजनिक शौचालय, घरेलु उत्पादन तथा प्रदर्शनी भवन, प्रहरी कार्यालय, स्वास्थ्य केन्द्र र ज्येष्ठ नागरिक कक्ष निर्माण गरिएका छन् । यसैगरी चिल्ड्रेन पार्कको स्तरोन्नति, श्रमिक पार्क र खेलमैदान निर्माणका काम पनि गरिएको उनले बताए ।

वडाध्यक्ष सिग्देलले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गरे । उनका अनुसार सडक सफा र हरियाली बनाउने, विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने तथा नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । महिला, बालबालिका र युवाको क्षमता अभिवृद्धि तथा सीप विकासका कार्यक्रमलाई पनि निरन्तरता दिइएको उनले बताए ।

वडामा सञ्चालित सबै विकास निर्माणका काम निर्धारित गतिमा अघि बढ्न नसकेको उनले स्वीकार गरे । केही सडक निर्माणमा निर्माण व्यवसायीको उदासीनता, बजारमा निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण ढिलाइ भएको उनको भनाइ छ ।

‘केही सडकका काम निर्माण व्यवसायीको उदासीनता, निर्माण सामग्रीको अभाव र महँगीका कारण अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन्,’ सिग्देलले भने, ‘अधुरा कामलाई यथाशीघ्र अगाडि बढाउन लागिपरेका छौँ ।’

चिल्ड्रेन पार्क टोल विकास संस्थाकी अध्यक्ष सुशीला श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा सामाजिक अगुवा बद्रीप्रसाद लम्साल र गणेश श्रेष्ठलगायतको आतिथ्यता थियो ।

साधारणसभामा संस्थाको वार्षिक प्रगति विवरण र आयव्यय विवरण प्रस्तुत गरी पारित गरिएको सचिव कल्पना थापाले जानकारी दिइन् । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी तथा नियमित उपस्थित हुने सदस्यलाई सम्मानसमेत गरिएको उनले बताइन् ।