मकवानपुर । चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत आयोजित हाजिरीजवाफ प्रतियोगितामा सुरज कार्की प्रथम भएका छन् ।
जेसीजका नयाँ सदस्यलाई संस्थाको उद्देश्य, गतिविधि र कार्यप्रणालीबारे जानकारी दिने उद्देश्यले आयोजित प्रतियोगितामा सन्तोष ढकाल द्वितीय र शिवराज गिरी तृतीय भएका हुन् ।

जेसीजकै विषयमा केन्द्रित प्रतियोगितामा आठ जना सदस्यले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक हजार पाँच सय, एक हजार र पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताले सदस्यहरूलाई संस्थाबारे जानकारी हासिल गर्नुका साथै आफ्नो ज्ञान परीक्षण गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रम सगुन सुवेदीको संयोजकत्व तथा चैनपुर जेसीज मनहरीका शाखा अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा भएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी प्रमुख अतिथि थिए ।

अधिकारीले जेसीजकै विषयमा हाजिरीजवाफमार्फत ज्ञान आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रम प्रभावकारी रहेको बताए । नयाँ सदस्यलाई संस्थाको मूल्य, मान्यता र गतिविधिबारे परिचित गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ थियो ।

जेसीज सप्ताहलाई सदस्यको क्षमता अभिवृद्धि र सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यअनुरूप हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

यसैबीच, जेसीज सप्ताहअन्तर्गत आइतबार बिहान मनहरी गाउँपालिका–४ मा रहेको पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै आवश्यक सामग्री सहयोग गरिएको छ । धार्मिक तथा सार्वजनिक स्थलको स्वच्छता कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जेसीजका पदाधिकारी तथा अन्य सरोकारवालाको सहभागिता थियो ।

रोशन ढकालको संयोजकत्वमा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ४ की सदस्य मीरा गौतम प्रमुख अतिथि थिइन् । उनले मन्दिर सरसफाइका लागि जेसीजले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।
गौतमले जेसीजसँगको सहकार्यमा आयोजित फुटबल प्रतियोगिताले छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन पहल गर्ने बताइन् । स्थानीय तह र सामाजिक संस्थाबीचको सहकार्यले समुदायमा सकारात्मक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा चैनपुर जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, निवर्तमान अध्यक्ष कृष्णप्रसाद ढकाल, पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष शारदा बिडारी र साना किसान सहकारीकी सञ्चालक सदस्य सीतादेवी ढकाललगायतको आतिथ्यता थियो ।

चैनपुर जेसीज मनहरीले जेसीज सप्ताह अन्तर्गत सदस्यको क्षमता विकास, खेलकुद र सामाजिक सेवासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ । सप्ताहअन्तर्गत आयोजित कार्यक्रमको समापन तथा फुटबल प्रतियोगिताको समापन सोमबार दिउँसो हुने मूल कार्यक्रम संयोजक राजु सुवेदीले जानकारी दिए ।