मकवानपुर । मकवानपुरको मकवानपुरगढी ३, मक्राञ्चुलीका घरआँगनमा तीन दिनसम्म देउसी-भैलोको भाका गुञ्जियो । विद्यालयको स्वर्ण जयन्तीलाई स्मरणीय बनाउने अभियानमा गाउँलेले गीत र नृत्यमार्फत साथ दिँदै आफ्नो हैसियतअनुसार सहयोगको हात पनि बढाए । त्यही सामुदायिक साथको परिणामस्वरूप २६ लाख ७६ हजार ६ सय ४२ रुपैयाँ ७६ पैसा नगद संकलन भयो ।
मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयको ५० वर्षे शैक्षिक यात्रालाई उत्सवका रूपमा मनाउने तयारी अन्तर्गत २०८३ कात्तिक २२ देखि २४ गतेसम्म देउसी-भैलो कार्यक्रम सञ्चालन गरिएको थियो । यो अभियानमा ६ सय ८५ घरधुरीबाट स्थानीय सहभागी बनेका थिए ।
विद्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत संकलित रकम र खर्च विवरण सार्वजनिक गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईंका अनुसार देउसी-भैलो अभियान समुदायको सहभागितामा विद्यालयको स्वर्ण जयन्तीलाई अर्थपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिएको थियो ।
सहयोग गर्ने घरधुरीमध्ये २ सय ५० ले ५ हजार रुपैयाँभन्दा बढी दिएका छन् । त्यस्तै, ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सात जना दाता रहेका छन् । सबैभन्दा बढी सहयोग गर्नेमा संगम टोल विकास संस्थाका हरिप्रसाद आचार्य छन् । उनले ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेका छन् ।
टोल विकास संस्थागत रूपमा हेर्दा पनि समुदायको उत्साह उल्लेखनीय देखिएको छ । संगम टोल विकास संस्थाबाट मात्रै ५ लाख ५७ हजार ९ सय २७ रुपैयाँ संकलन भएको छ । कालीदेवीबाट ३ लाख ६८ हजार ६ सय ५२ रुपैयाँ १० पैसा, धर्मचुलीबाट ३ लाख २३ हजार ६ सय ७१ रुपैयाँ र बाबियोडाँडाबाट २ लाख ७२ हजार २ सय ७६ रुपैयाँ जुटेको छ ।
सुशासन टोल विकास संस्थाबाट २ लाख ५१ हजार ७ सय ७८ रुपैयाँ ५५ पैसा, नमुनाबाट २ लाख ४ सय ८ रुपैयाँ, देवीडाँडाबाट १ लाख ८७ हजार ४ सय ३६ रुपैयाँ, मक्रानडाँडा धमिलेबाट १ लाख ३७ हजार २ सय १७ रुपैयाँ, जीवनमौलीबाट १ लाख २३ हजार ९ सय ५० रुपैयाँ र सुनौलो ज्वालादेवीबाट १ लाख १२ हजार ७ सय ९३ रुपैयाँ ११ पैसा संकलन भएको विद्यालयले जनाएको छ । भूमिचुली र कालीदेवी मरङ्गेबाट क्रमशः ५३ हजार ४ सय २५ र ८७ हजार १ सय ९ रुपैयाँ प्राप्त भएको छ ।
देउसी-भैलो सञ्चालनका क्रममा कलाकार, साउन्ड सिस्टम, इन्धन, खाना, खाजा, नृत्य पोसाकलगायतमा १ लाख ८९ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ । यसमध्ये कलाकारलाई ५५ हजार, साउन्ड सिस्टममा ३५ हजार, पेट्रोल–डिजेलमा २१ हजार ६ सय २० र खानामा ४५ हजार ३ सय ३९ रुपैयाँ खर्च भएको छ ।
अध्यक्ष चौलागाईंले अभियान सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । ५० वर्षको शैक्षिक यात्राको उत्सव मनाउन गाउँलेले दिएको यो साथ विद्यालयका लागि रकमभन्दा ठूलो सामुदायिक भरोसा बनेको बताए ।
देउसी-भैलोको आयव्यय सार्वजनिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा, पूर्वप्रधानाध्यापक, टोल विकास संस्थाका अध्यक्ष तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।









