मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको विद्युतीय गाडी दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

रास्वपा मकवानपुर जिल्ला समितिका सचिव बिशभ अधिकारीद्वारा जारी विज्ञप्तीमा दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । दुर्घटनामा घाइते भएकाहरूको शीघ्र उपचार तथा स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

विज्ञप्तिमा चिसापानीगढीमा भएको दुर्घटनालाई दुःखद र गम्भीर घटनाका रूपमा उल्लेख गर्दै दुर्घटनाको वास्तविक कारण पहिचान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । सडकको अवस्था, सवारी साधनको सञ्चालन तथा दुर्घटना न्यूनीकरणका उपायबारे प्रभावकारी अध्ययन गरी आवश्यक कदम चाल्न सरकारसँग माग गरिएको छ ।

रास्वपाले सडक दुर्घटना दोहोरिन नदिन सडक सुरक्षा तथा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । दुर्घटनापछि उद्धार, उपचार तथा राहतमा संलग्न सबै निकायलाई समेत पार्टीले धन्यवाद दिएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले दुर्घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै आगामी दिनमा यस्ता दुर्घटना रोक्न सडक तथा यातायात सुरक्षासम्बन्धी दीर्घकालीन उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।