मकवानपुर । हेटौँडा उपमहानगरपालिका-८ ओमनगरमा प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ मृत फेला परेका छन् । ३६ वर्षीय गुरुङ मंगलबार बिहान करिब साढे ४ बजे ओमनगर गेटनजिकै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मर्निङ वाकमा निस्किएका एक व्यक्तिले गुरुङलाई झुन्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए । सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

गोरखाको आरुघाट गाउँपालिका-३ पोखरीटोल स्थायी घर भएका गुरुङ हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

गुरुङ सोमबार लमजुङबाट हेटौँडा-८ ओमनगर आएका थिए । तिहारका अवसरमा दाइलाई टीका लगाउन आएकी आफ्नी पत्नीलाई भेट्न उनी ओमनगर आएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताए । नोटमा के उल्लेख छ भन्नेबारे प्रहरीले खुलाएको छैन । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।