मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किने गरी नगर गान निर्माणको तयारीमा जुटेको छ । यसका लागि उपमहानगरपालिकाले इच्छुक स्रष्टा, रचनाकार तथा नेपाली नागरिकबाट मौलिक रचना आव्हान समेत गरेको छ ।
उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले प्रस्तावित नगर गानमा हेटौँडा नगरको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, औद्योगिक तथा वातावरणीय पहिचानसँगै पुरातात्विक र मौलिक विशेषता समेत समेटिनुपर्ने जानकारी दिए ।
‘हेटौँडाको इतिहास, संस्कृति, भूगोल, आर्थिक तथा औद्योगिक पहिचानलाई समेटेर नगरको आफ्नै परिचय दिने नगर गान निर्माण गर्न लागिएको हो,’ प्रवक्ता न्यौपानेले भने, ‘यसमा स्थानीय मौलिकता र हेटौँडाको विशिष्ट पहिचान झल्किने गरी उत्कृष्ट रचना हुुनुपर्छ ।’
नगर गानलाई हेटौँडाको समग्र पहिचान र विशिष्टतालाई प्रतिनिधित्व गर्ने सिर्जनाका रूपमा विकास गर्ने उपमहानगरपालिकाको तयारी छ ।
उनका अनुसार नगर गान एक स्थायी र दुई अन्तराको हुनुपर्ने र यसको अवधि बढीमा दुई मिनेटको हुनुपर्नेछ । नगरको पहिचानलाई एउटै सिर्जनात्मक अभिव्यक्तिमा समेट्ने उद्घेश्यले नगर गान निर्माणको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
नगर गानको रचना पूर्ण रूपमा मौलिक र अप्रकाशित हुनुपर्ने उपमहानगरका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिए । अन्य व्यक्ति वा संस्थाको रचनासँग हुबहु वा आंशिक रूपमा मिलेको पाइएमा अथवा प्रतिलिपि अधिकार उल्लङ्घन भएको प्रमाणित भएमा त्यस्तो रचना स्वतः रद्घ हुने उनले बताए ।
नगर गान एउटा औपचारिक गीत मात्र नभई हेटौँडाको पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने सिर्जनाका रुपमा आफूहरुले विकास गर्न चाहेको उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । ‘हेटौँडाको इतिहास, प्रकृति, संस्कृति, सामाजिक विविधता र औद्योगिक पहिचानलाई समेट्ने गरी नगर गान निर्माण गर्न खोजिएको हो । त्यसैले उत्कृष्ट सिर्जनाका लागि स्रष्टा तथा रचनाकारहरूको सहभागिता महत्वपूर्ण हुनेछ’, उनले भनिन् ।
नगरपालिकाले नगर गान निर्माणसम्बन्धी अन्य व्यवस्था ‘हेटौँडा उपमहानगरपालिका पर्यटन वर्ष २०८३ को लोगो तथा नगर गान निर्माण सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम हुने जनाएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ मा ‘हेटौँडा पर्यटन वर्ष’ मनाउँने तयारी गरिरहेको सन्दर्भमा हेटौँडाको पहिचानका लागि विभिन्न अभियानहरु सञ्चालन गर्न लागिएको हो ।















