दसैँ र तिहारको आगमनसँगै गाउँघरका चोक, चौतारा र खुला स्थानमा लिङ्गे पिङ हाल्ने र खेल्ने परम्परा नेपाली समाजको मौलिक पहिचानका रूपमा रहँदै आएको छ। तर पछिल्लो समय आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रयोग र जनशक्तिको अभावका कारण पिङ संस्कृति हराउँदै जान थालेपछि यसको संरक्षण आवश्यक देखिएको छ।

मकवानपुरका गाउँ तथा हेटौंडा उपमहानगरपालिकाको टोलटोमा पनि दसैँका बेला पिङ हाल्ने परम्परालाई निरन्तरता दिन स्थानीय सरकार, युवा क्लब र स्थानीय युवाको सक्रियता महत्त्वपूर्ण बनेको छ। नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्न तथा चाडपर्वको रौनक बढाउन सार्वजनिक स्थानमा पिङ निर्माण र संरक्षणका गतिविधिलाई प्रोत्साहन गरिएको मकवानपुरगढी–६ का युवा उद्धब उप्रेती बताउँछन् ।

मकवानपुरका गाउँ र शहरमा पिङ हाल्नका लागि स्थानीय सरकार अन्तरगतका वडा कार्यालयहरुले पनि सहयोग गर्दै आएका छन् । युवाहरु पनि यसमा तातेका छन् ।