मकवानपुर । मकवानपुरको हेटौँडामा सोमबार पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१, सामरीस्थित हेटौँडा–भैँसे सडकखण्डमा सोमबार दिउँसो करिब ४ बजेर ५० मिनेटमा हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल घाइते भएका चालक लामालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले साँझ ५ बजेर १० मिनेटमा उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परेका बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप र बा.४७ प ८४६१ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । पिकअप चालकलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।