मकवानपुर । नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले राष्ट्रिय हितको लागि एमाले बलियो हुनुपर्ने बताएका छन् ।

एमाले हेटौँडा १७ नं वडाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले आफ्नो पार्टी सरकारमा रहँदा नै विदेशी हस्तक्षेप र चलखेलको अन्त्य, राष्ट्रिय स्वाधिनताको रक्षा र मिचिएका नेपाली भूमि फिर्ता गर्न पहल भएको बताए ।

भेलामा प्रमुख अतिथि रहेका उनले वर्तमान प्रधानमन्त्रीले गरिमामय संसदमा नेपालले भारतीय भूमि मिचेको छ भन्नू नेपाली राष्ट्रियता र स्वाधिनताप्रति प्रहार भएको बताए । उनले मुलुकमा महङ्गी, हत्याहिँसा, बेथिति बढ्दै जाँदा जनताको दैनिक जीवनकष्टकर बन्दै गईरहेकोले पार्टीका हरेक नेता र कार्यकर्ता जनताको समस्यामा जुट्नपर्नेमा जोड दिए । मिसन पार्टी जागरणलाई वडाबाट अब टोल टोल पुर्याएर फैल्याएको भ्रम चिर्न आवश्यक रहेको उनको भनाई छ ।

भेलामा एमाले प्रदेश कमिटीका सदस्य रामचन्द्र राईले आफ्ना कमिकमजोरीलाई ढाकछोप नगर्ने र आत्मसाथ गर्दै जनतासंगको सम्बन्ध अझ गाढा बनाउन आवश्यक रहेको बर्ताए । राष्ट्रनिर्माण र संविधानको रक्षाकोे लागि एमालेको विकल्पमा कुनै पार्टी हुन नसक्नेमा उनले जोड दिए ।
पार्टी बागमती प्रदेश कमिटी सदस्य सुमित्रा काफ्लेले निर्वाचनबाट आएको सरकार निरंकुशतातर्फ अगाडि बढिरहेको र स्वेच्छाचारी भएको धारणा राखिन् ।

प्रदेश कमिटी सदस्य कमलबहादुर विष्टले सरकारले गरिब, किसान र मजदुरको पक्षमा कुनै सम्बोधन नगरेको बताए । रसुवामा भएको बाढीपहिरो र विपत्तिमा समेत सरकार उदासिन भएको र अरू पार्टी र नेता कार्यकर्ता उदासिन भएको उनले तर्क गरे ।
नेकपा एमाले, मकवानपुरका कार्यबाहक अध्यक्ष हिदम लामाले नेपाली जनताको चाहना र देशको आवश्यकताले भन्दा पनि वैदेशीक चलखेलले नेपाली राजनीति प्रभावित भएको टिप्पणी गरे । उनले अहिले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका समेत समस्यामा पर्द‌ गईरहेको दाबी गरे ।

पार्टी वडा अध्यक्ष लक्ष्मण खुलालको अध्यक्षतामा भएको भेलामा जिल्ला सदस्य कृष्णबहादुर राई, एमाले नेताहरू भैरवबहादुर राई, शंकर राई, जिल्ला जेष्ठ कम्युनिष्ट मञ्चका कृष्णप्रसाद नेपाल, उपमहानगर कमिटीका सचिव प्रदीप गौतमलगायतको उपस्थिति थियो ।