मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट शनिबार पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुर र एपीएफ नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीका अनुसार दिउँसो करिब १२ः१५ बजे बा.प्र।०३-००१ ह ११८१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा चालकले अटो भगाउन खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि अटो नियन्त्रणमा लिएर तलासी गर्दा पेस्तोल र गोली बरामद भएको हो।
टोलीले ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने एक थान म्यागजिन र पिँदीमा चोट लागेको अवस्थामा रहेको ७.६५ एमएमको एक राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ।








