काठमाडौँ । कहिलेकाहीँ जीवनले हामीले सोच्दै नसोचेको बाटो समात्छ । आफूलाई त्यस यात्राको यात्री बन्ने कल्पनासमेत नगरेको अवस्थामा कुनै अवसर अचानक अगाडि आइपुग्छ । अनि त्यही अवसरले जीवनको परिभाषा बदलिदिन्छ ।
गंगा न्यौपाने राउतको जीवनमा यस्तै भयो ।
‘मैले पनि ब्युटी कन्टेस्ट हुन पाउँछु भन्ने कल्पना नै गरेको थिइनँ,’ उनी मुस्कुराउँदै सम्झिन्छिन्, ‘कस्तो हुँदो रहेछ, हेरौँ न त भनेर गएको थिएँ ।’
यही एउटा सामान्य जिज्ञासाबाट सुरु भएको उनको यात्रा अहिले अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेको छ । आगामी अक्टोबर १२ देखि १९ सम्म थाइल्याण्डको खोनकेन सहरमा आयोजना हुने ‘मिसेस एसिया इन्टरनेशनल २०२६’मा नेपालबाट गंगा सहभागी हुँदैछिन् । उनी प्रतियोगितामा ‘मिसेस क्लासिक एसिया इन्टरनेशनल’ का रूपमा प्रतिस्पर्धा गर्दैछिन् ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुअघि उनले राष्ट्रियस्तरको प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन् । सामरी इन्टरनेशनल इभेन्ट्स प्राइभेट लिमिटेडले २०८३ साउन १६ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२६’ मा मिसेस एलिगेन्सतर्फ सहभागी २० जनामध्ये उनी तेस्रो रनरअप भएकी थिइन् ।
त्यही उपलब्धिले उनलाई अर्को ठूलो यात्रातर्फ लम्कायो ।
तर गंगाको कथा सुन्दरता प्रतियोगिताबाट मात्र सुरु भएको भने होइन । यो एउटा यस्तो महिलाको कथा हो, जसले जीवनका विभिन्न मोडमा आफूलाई पुनः परिभाषित गरिरहिन् । कलाकार बन्ने प्रयासदेखि शिक्षण र उद्यमसम्म, परिवारको जिम्मेवारीदेखि सामाजिक अभियानसम्म र संघर्षदेखि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितासम्म आइपुग्दा उनले थुप्रै अनुभव सँगालेकी छन् ।

‘पेटभन्दा माथि सोच्नुपर्छ’
गंगाको जन्म २०३३ साल फागुन २५ गते बनेपा नगरपालिकामा पण्डित केशवप्रसाद न्यौपाने र श्रीदेवी न्यौपानेको कोखबाट भएको हो । बाल्यकाल बनेपाको बुडोल बाहुन गाउँमा बित्यो ।
त्यो समयको सामाजिक परिवेश आजको जस्तो थिएन । सीमित अवसरबीच पनि गंगाको सोच भने फराकिलो हुँदै गयो । सानैदेखि अप्ठ्यारोमा परेकालाई सहयोग गर्न उनलाई मन पथ्र्यो । परिवार र आफन्तका समस्या समाधान गर्न आफूले सकेको भूमिका खेल्थिन् ।
त्यसको बदलामा आउने सानो प्रतिक्रिया पनि उनलाई ठूलो खुसी दिन्थ्यो । ‘नानी, तपाईंले गर्दा मलाई सजिलो भयो । म अहिले खुसीसाथ जीवन जिउन सकेँ,’ आफूले सहयोग गरेका मानिसबाट यस्तो प्रतिक्रिया सुन्दा मनमा छुट्टै सन्तुष्टि मिल्ने उनी बताउँछिन् ।
सायद त्यही अनुभवले उनको सोचलाई फराकिलो बनायो ।
‘सानैदेखि आफू र आफ्नो परिवारको पेटभन्दा माथि सोच्नुपर्छ भन्ने लागिरहन्थ्यो,’ उनी भन्छिन्, ‘सायद आज म त्यही सोचका कारण यो व्यक्तित्व निर्माणमा लागेकी छु ।’
पाटन क्याम्पसबाट बीए गरेकी गंगा अहिले नेपाल खुला विश्वविद्यालयमा एलएलबी दोस्रो वर्षमा अध्ययनरत छिन् । स्कुल सकिएदेखि नै उनले केही न केही गर्दै आइन् । काम गर्ने उनको क्रम आजसम्म रोकिएको छैन ।

अभिनयको रहरदेखि सामाजिक अभियानसम्म
गंगाको जीवनमा अभिनयको अध्याय पनि छ ।
उनले सुरुमा प्रौढ कक्षामा काम गरिन् । त्यसपछि बीएस राणाको ‘बसन्ती’ नाटक हुँदै फिल्म क्षेत्रमा प्रवेश गरिन् । बंगाली चलचित्र ‘लेडिरेम्बो’ मा सुनिल थापा र युवराज लामाहरूको बहिनीको भूमिकामा अभिनय गरिन् ।
त्यसपछि नेपाली चलचित्र ‘गाउँले’ मा पनि अवसर पाइन् । सुनिल थापा र विपना थापासँग दुई दिनसम्म सुटिङसमेत भयो । तर अचानक बिरामी परेपछि उनको अभिनय यात्रा रोकियो ।
त्यो समयको एउटा घटना उनी अहिले पनि सम्झिन्छिन्।

‘पुष्कर शाह दाइ र शिव, किशोर ढकाल दाइहरूले तिमी काम गर्न नसक्ने भए तिम्रो ठाउँमा अरू कसैलाई ल्याइदेऊ वा रिकमेन्ड गर भन्नुभएको थियो,’ उनी सम्झिन्छिन्, ‘मैले दीपाश्री निरौलालाई रिकमेन्ड गरेँ र उहाँलाई गाउँले फिल्ममा ल्याउन लगाएँ । त्यो नै उहाँको पहिलो नेपाली मुभी पनि हो ।’

त्यसपछि उनको जीवनले अर्को मोड लियो ।
उनको विवाह भयो । श्रीमती, बुहारी र आमाको भूमिकामा रहँदै उनले सामाजिक गतिविधिलाई पनि निरन्तरता दिइन् ।
मन्टेश्वरी स्कुल सञ्चालन गरिन् । त्यहाँ काम गर्दा बालबालिकाको हकअधिकार र शिक्षाको विषयलाई प्राथमिकतामा राखिन् ।
२०७२ सालतिर उनले स्थानीय तहदेखि अभिभावक संघ र महानगरपालिकासम्म बालबालिकाको शिक्षा, स्वास्थ्य र संस्कारको विषय उठाइन् ।
‘हाम्रो देशको भविष्य सुधार्ने जिम्मेवारी हाम्रै हो । हाम्रा बालबालिका नै भोलिका कर्णधार हुन्,’ उनले सम्बन्धित निकायलाई आग्रह गर्दै भनेकी थिइन्, ‘बीस वर्ष हामीले बालबालिकामाथि एकरूपताले शिक्षा, स्वास्थ्य र संस्कार दिनुपर्नेछ । हाम्रो देश हाम्रै पालामा बस्नलायक बनाउन सकिन्छ । बिन्ती, मलाई हेल्प गर्नुस् ।’
उनले पटक-पटक स्थानीयस्तरमा छलफल र बैठकसमेत गरिन् । तर अपेक्षित सहयोग पाउन सकिनन् । राज्य संरचनालाई दोष दिँदै सम्बन्धित संयन्त्रहरू पन्छिँदै गएको उनको अनुभव छ ।
पछि कोरोना महामारी, लकडाउन र आफूलाई क्यान्सर भएको अवस्थाका कारण उनले स्कुल बन्द गरिन् । घर भाडामा लगाउने निर्णय गरिन् ।
तर पनि उनको सामाजिक सक्रियता भने रोकिएन ।

समाजसेवाबाट महिला नेतृत्वसम्म
गंगा आफ्नो वडामा टि.एच.पी.टोल हेल्थ प्रमोटरका रूपमा सक्रिय रहिन् । टोल सुधार समितिको सचिव भएर काम गरिन् । अहिले उनी वडाकै पुरानो र प्रतिष्ठित ‘रिद्धिसिद्धी महिला समूह’ की अध्यक्ष छिन् ।
महिला सशक्तीकरण र बालबालिकाका लागि टोल-टोलमा बाल क्लब आवश्यक रहेको उनको जोड छ । ‘अहिले पनि महिला सशक्तीकरण र टोल–टोलमा बालक्लब हुनुपर्छ भनेर काम गरिरहेकी छु,’ उनी भन्छिन्,‘यहाँसम्म आउँदा व्यक्तिगत उपलब्धिभन्दा आफ्नो वडामा समाजसेवीका रूपमा परिचित हुनु ठूलो कुरा हो ।’
उनको रुचि आत्मनिर्भर बन्नु र समाजसेवा गर्नु हो । फुर्सदको समय पनि उनी शारीरिक, मानसिक र सामाजिक रूपमा आफूलाई निखार्न प्रयोग गर्छिन् ।
दार्शनिक र महान् व्यक्तिहरूका जीवनी पढ्न उनलाई मन पर्छ । पछिल्लो समय ‘चिना हराएको मान्छे’, ‘सेतो धरती’ र महावीर पुनको पुस्तकले उनको ध्यान तानेका छन् । ऊर्जावान र प्रेरणादायी राष्ट्रिय गीत उनको रोजाइमा पर्छ । हिन्दी चलचित्र ‘जिन्दगी ना मिलेगी दोबारा’ उनलाई मन पर्छ । मनपर्ने व्यक्तित्वमा पाकिस्तानी नेतृ स्वर्गीय बेनजिर भुट्टो पर्छिन् ।
आफूलाई तीन शब्दमा उनी सहृदयी, आत्मीय र मिलनसार भन्न रुचाउँछिन् । ‘मेरो सबैभन्दा ठूलो शक्ति आत्मविश्वास नै हो,’ उनी भन्छिन् ।
कमजोरी पनि उनी लुकाउँदिनन् । अरूका लागि अनावश्यक रूपमा समय खर्चिनु आफ्नो कमजोरी रहेको उनी बताउँछिन् । अब भने त्यसमा सचेत भएर सुधार गर्दै अघि बढ्ने उनको भनाइ छ ।

अचानक सुरु भएको सौन्दर्य यात्रामा संघर्ष
गंगाको सौन्दर्य प्रतियोगिताको यात्रा योजनाबद्ध थिएन । समूहकी सदस्य, साथी तथा छिमेकी रोजी श्रेष्ठले आफू प्रतियोगितामा जान लागेको जानकारी दिएपछि गंगालाई पनि सहभागी हुन सुझाइन् ।

‘उहाँकै प्रेरणाले सहभागी हुन पुगेँ । यो यात्रा अचानक नै सुरु भयो भन्नुपर्छ,’ उनी भन्छिन् ।
धेरैको अडिसनबाट २० जना छनोट भए । त्यसपछि तालिम सुरु भयो । ट्यालेन्ट, लिडरसिपलगायत विभिन्न चरण पार गर्दै प्रतियोगिता फाइनलतर्फ पुग्यो ।
तर उनका लागि यो केवल सौन्दर्य प्रदर्शनको यात्रा थिएन। यसले नयाँ कुरा सिक्ने अवसर पनि दियो ।
जीवनमा कहिल्यै अग्लो हिल नलगाएकी गंगाले पेन्सिल हिलमा हिँड्न सिकिन् । फाइनलको दिनसम्म पनि दुई–तीन घण्टा लगातार हिलमा उभिन उनलाई कठिन हुन्थ्यो ।
‘मेरो मुस्किल देखेर मेरा जज निर्णय श्रेष्ठ सरले स्टेजमा गिफ्ट समाइदिएर सहयोग गर्नुभएको थियो,’ उनी सम्झिन्छिन् ।
त्यो अनुभवले उनलाई एउटा महत्वपूर्ण पाठ सिकायो कि मन लगाएर आँटेपछि असम्भव जस्तो लाग्ने काम पनि गर्न सकिँदो रहेछ ।
तर फाइनलमा तेस्रो स्थानको घोषणा हुँदा भने उनी केही क्षण स्तब्ध भइन् । ‘नो,’ आफ्नो मुखबाट निस्किएको पहिलो शब्द सम्झँदै उनी भन्छिन्, ‘किनकि मेरो मेहनत मेरो लेभलभन्दा निकै माथिको थियो ।’
उनको अपेक्षा पहिलो स्थान थियो । तर कार्यक्रमको मर्यादा र परिणामलाई उनले तत्कालै आत्मसात गरिन् ।
त्यो क्षणमा उनलाई श्रीमान् र परिवारको याद आयो । प्रतियोगितामा परिवारका सदस्य उपस्थित हुन सकेका थिएनन् । आमा, सानीमा, भाइ, बहिनी, टोलवासी र साथीहरू भने उनको हौसला बढाउन पुगेका थिए ।
परिवारलाई उपलब्धिबारे खबर गर्दा आएको प्रतिक्रिया झन् भावुक थियो–‘प्राउड अफ यु, कीप इट अप ।’
त्यसपछि उनको खुसी झन् चुलियो ।

अब अन्तर्राष्ट्रिय मञ्चको तयारी
तेस्रो रनरअपको उपलब्धिलाई उनी अन्तिम गन्तव्य मान्दिनन् । त्यसलाई लक्ष्यतर्फ अघि बढ्ने एउटा महत्वपूर्ण खुड्किलो ठान्छिन् ।
‘मेहनत त मैले तेस्रो स्थानका लागि मात्र नभई प्रथम हुनका लागि गरेको थिएँ,’ उनी भन्छिन्, ‘अनुशासित भएर हरेक काम कुशलतापूर्वक गरेकी थिएँ । त्यसको प्रशंसा आयोजक र सहभागीहरूले पनि सधैँ गर्नुहुन्थ्यो ।’
आयोजक टोलीको हौसला, अन्तर्राष्ट्रिय प्रशिक्षक रोजिन शाक्यको प्रशिक्षण, परिवार, साथीभाइ, टोलवासी र शुभेच्छुकको साथले आफूलाई यहाँसम्म ल्याएको उनको भनाइ छ ।
‘परिवार, साथीभाइ, टोलवासी र शुभेच्छुकहरूले भोट गरेर, टिकट किनेर हलसम्म आएर मलाई उत्साहपूर्ण सहयोग गर्नुभयो,’ उनी भन्छिन्, ‘यसका लागि म उहाँहरूप्रति सदैव आभारी रहनेछु ।’
अब त्यही आत्मविश्वास बोकेर उनी थाइल्याण्ड जाँदैछिन् । अक्टोबर १२ देखि १९ सम्म खोनकेनमा हुने ‘मिसेस एसिया इन्टरनेशनल २०२६’ उनको अर्को परीक्षा हुनेछ ।
यो यात्रालाई उनी व्यक्तिगत उपलब्धिभन्दा फराकिलो अर्थमा हेर्छिन् । अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई प्रस्तुत गर्दै नेपाललाई चिनाउने अवसरका रूपमा लिन्छिन् ।
उनी भन्छिन्, ‘मलाई यो सफलताले आफ्नो लक्ष्यमा पुग्न ठूलो सहयोग गरेको महसुस भएको छ ।’

असफलताले सिकाएको आत्मनिर्भरता
गंगाले जीवनमा धेरै भूमिका निभाइन् । कलाकार बन्न खोजिन् । विवाहपछि परिवारको जिम्मेवारी सम्हालिन् । स्कुल सञ्चालन गरिन् । सामाजिक अभियान चलाइन् । महिला समूहको नेतृत्व गरिन् । रोगसँग संघर्ष गरिन् । अनि अहिले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको तयारीमा छिन् ।
उनी आफ्नो जीवनलाई एक समय निभ्न लागेको दियोसँग तुलना गर्छिन् । तर अहिलेको सफलताले फेरि नयाँ जोस, जाँगर र उत्साह दिएको उनको अनुभव छ ।

‘भविष्यमा यो सफलताको कारणले के कार्य सिद्ध हुन्छ, हेर्न बाँकी नै छ,’ उनी भन्छिन् ।
फरक संस्कृतिमा विवाह गरेर त्यही समाजमा टिकेर जीवन बिताउनु पनि उनका लागि ठूलो संघर्ष थियो । त्यो संघर्षलाई उनले जीवन बुझ्ने अवसर बनाइन् ।
‘मेरो जीवनमा असफलताले आफूलाई पहिलो प्राथमिकतामा राख भन्ने ठूलो पाठ सिकाएको छ,’ उनी भन्छिन् ।
उनको सफलताको परिभाषा पनि त्यहीँ जोडिन्छ ।

सफलता उनका लागि केवल ताज, पदक वा मञ्चमा प्राप्त स्थान होइन । त्यो आत्मनिर्भरता र स्वतन्त्र जीवन हो । ‘मेरो लागि सफलताको वास्तविक अर्थ आत्मनिर्भरताका साथ स्वतन्त्र जीवन जिउनु हो,’ उनी भन्छिन् ।
यही विश्वास बोकेर गंगा अब खोनकेनको अन्तर्राष्ट्रिय मञ्चमा उभिने तयारीमा छिन् । त्यहाँ उनको हातमा नेपालको प्रतिनिधित्व हुनेछ । साथमा हुनेछ-जीवनका अनेक उतारचढाव पार गरेर बनाएको आत्मविश्वास । सायद यही आत्मविश्वास नै उनको सबैभन्दा ठूलो ताज हो ।