मकवानपुर । मकवानपुरको हेटौँडाको फुर्केचौरमा एक सामान्य परिवारमा जन्मिएकी उषा खतिवडा पराजुली आज अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेर उच्च शिक्षा हासिल गर्न सफल भएकी छिन् ।

अरु सामान्य विद्यार्थीझैँ उनले पनि सरकारी विद्यालयको कक्षाकोठाबाटै आफ्नो अध्ययन सुरु गरेकी थिइन् । तर, उनको संघर्ष अहिले हजारौं विद्यार्थीका लागि प्रेरणाको कथा बनेको छ । सीमित स्रोतसाधन, सामान्य पारिवारिक पृष्ठभूमि र ग्रामीण परिवेशबीच हुर्किएकी उषाले कहिल्यै आफ्नो सपना सानो बनाइनन् ।

उनले आफ्नो प्रारम्भिक शिक्षा हेटौंडास्थित बंशगोपाल प्राविधिक विद्यालयबाट हासिल गरिन् । सरकारी विद्यालयमा पढ्ने धेरै विद्यार्थीहरूमा ‘हामी पछि पर्छौं’ भन्ने मानसिकता देखिने गरे पनि उषाले त्यो सोचलाई कहिल्यै स्वीकार गरिनन् । पढाइप्रतिको लगाव र निरन्तर मेहनतले उनलाई मकवानपुर बुहुमुखी क्याम्पससम्म पुर्‍यायो, जहाँ उनले विज्ञान विषय अध्ययन गर्दै उत्कृष्ट नतिजा ल्याइन् ।

विज्ञान अध्ययनसँगै उनको सपना अझ स्पष्ट हुँदै गयो कि उनी इन्जिनियर बन्न चाहन्थिन् । यही सपना बोकेर उनी काठमाडौं पुगिन् र कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरिन् । तर उनका लागि इन्जिनियरिङ केवल जागिर वा डिग्री प्राप्त गर्ने माध्यम थिएन । उनी समाजका लागि काम गर्न सक्ने एउटा जिम्मेवारीपूर्ण पेशाका रूपमा यसलाई हेर्थिन् ।

२०७२ सालको भूकम्पले देशभर हजारौं विद्यालय भवन ध्वस्त बनायो । धेरै बालबालिका असुरक्षित टहरामुनि पढ्न बाध्य भए । त्यही कठिन समयमा उषाले साइट इन्जिनियरका रूपमा विद्यालय पुनर्निर्माणमा काम गर्ने अवसर पाइन् । विभिन्न जिल्लामा पुगेर उनले भूकम्पपीडित विद्यालयहरूको पुनर्निर्माणमा योगदान दिइन् ।

त्यो अनुभव उनका लागि केवल प्राविधिक अभ्यास थिएन । विद्यालयका भग्नावशेषबीच उभिएका बालबालिकाको भविष्य उनले नजिकबाट देखिन् । कतिपय गाउँमा विद्यार्थीहरू असुरक्षित भवनमा पढिरहेका थिए, कतै अभिभावकहरू आफ्ना छोराछोरीको सुरक्षाप्रति चिन्तित थिए। त्यही दृश्यले उषालाई अझ जिम्मेवार बनायो ।

‘विद्यालय भनेको केवल भवन होइन, त्यो भविष्य निर्माण गर्ने ठाउँ हो ।’ उनी भन्छिन्, ‘त्यसैले सुरक्षित र गुणस्तरीय पूर्वाधार निर्माण गर्नु मेरो लागि पेशाभन्दा पनि दायित्व बनेको थियो ।’
नेपालमै संघर्ष गर्दै अघि बढेकी उषाको यात्रा पछि अमेरिकासम्म पुग्यो । अहिले उनी अमेरिकाको प्रतिष्ठित सान डियागो स्टेट युनिभर्सिटीबाट कन्स्ट्रक्सन इन्जिनियरिङमा मास्टर्स डिग्री हासिल गर्ने चरणमा पुगेकी छन् । परिवारबाट विदेशमा उच्च शिक्षा हासिल गर्ने पहिलो पुस्ताकी सदस्य बनेर उनले आफ्नो परिवार र समाजका लागि एउटा नयाँ उदाहरण प्रस्तुत गरेकी छन् ।
अमेरिकामा अध्ययनका क्रममा उनले ‘लाटिना लिडरसिप आउटस्ट्यान्डिङ ग्राजुएट मेडालियन’ सम्मान पनि प्राप्त गरिन् । यो सम्मान केवल शैक्षिक उत्कृष्टताको प्रतीक मात्र होइन, नेतृत्व क्षमता, लगनशीलता र संघर्षको पनि सम्मान थियो ।
तर धेरैको जस्तो उनको सपना विदेशमै स्थायी बसोबास गर्ने छैन । बरु उनी नेपाल फर्केर आफ्नै देशमा काम गर्ने योजना बनाइरहेकी छन् । आफूले सिकेको ज्ञान, सीप र अनुभव नेपालका पूर्वाधार विकास, सुरक्षित विद्यालय निर्माण र गुणस्तरीय इन्जिनियरिङ क्षेत्रमा प्रयोग गर्ने उनको चाहना छ ।

‘नेपालले मलाई सपना देख्न सिकायो ।’ उनी भन्छिन्, ‘म जहाँ पुगेकी छु, त्यो मेरो देश, मेरा गुरु, मेरा अभिभावक र समाजकै कारण सम्भव भएको हो। त्यसैले मैले सिकेको कुरा नेपालमै प्रयोग गर्न चाहन्छु । आफ्नै देशका लागि केही गर्न सक्नु नै मेरो सबैभन्दा ठूलो सपना हो ।’
उनको यात्राले आजको पुस्तालाई एउटा महत्वपूर्ण सन्देश दिन्छ कि सफलता विद्यालयको भवनले तय गर्दैन, त्यो मेहनत, निरन्तरता र आत्मविश्वासले तय गर्छ । सरकारी विद्यालयमा पढ्दै गरेका धेरै विद्यार्थीहरू अझै पनि आफूलाई अवसरभन्दा टाढा ठान्छन् । तर उषाको जीवनले प्रमाणित गरेको छ कि परिस्थिति कमजोर हुन सक्छ, सपना होइन ।