मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-३ मा शनिबार बिहान एउटा साधारण कार्यक्रम हुँदै थियो । सहकारी परिसरमा स्थानीय किसान, जनप्रतिनिधि र दुग्ध व्यवसायसँग जोडिएका व्यक्तिहरू भेला भएका थिए । कार्यक्रमको केन्द्रमा थियो-रातो रंगको ३० केभिए क्षमताको नयाँ जेनेरेटर । तर त्यो केवल एउटा मेसिन थिएन, किसानका लागि दूध जोगाउने भरोसा र गाउँपालिकाको नयाँ कृषि नीतिको प्रतीक पनि थियो ।

नमुना कृषक बहुमुखी सहकारी संस्थालाई मनहरी गाउँपालिकाले करिब साँढे ७ लाख रुपैयाँ बराबरको जेनेरेटर हस्तान्तरण गरेपछि स्थानीय दुग्ध किसानहरू उत्साहित देखिए । पछिल्ला वर्षहरूमा मनहरीमा दूध उत्पादन बढ्दै गए पनि विद्युत अवरुद्ध हुँदा चिस्यान केन्द्रमा दूध सुरक्षित राख्न समस्या हुँदै आएको थियो । विशेषगरी गर्मीयाममा लामो समय विद्युत नहुँदा किसानको मेहनत खेर जाने जोखिम रहन्थ्यो ।

शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापा लाई जेनेरेटर हस्तान्तरण गर्दै किसानको श्रम सुरक्षित राख्नु स्थानीय सरकारको दायित्व भएको बताए ।
‘दूध किसानको दैनिक आम्दानीसँग जोडिएको उत्पादन हो । विद्युत नहुँदा चिस्यान केन्द्रमा दूध बिग्रने समस्या थियो ।’ अध्यक्ष कालाखेतीले भने, ‘किसानबाट संकलित रकम फेरि किसानकै हितमा लगानी गर्ने हाम्रो नीति अनुसार यो सहयोग गरिएको हो ।’

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल लगायत स्थानीय दुग्ध किसानहरूको उपस्थिति थियो । किसानहरूका अनुसार अहिले मनहरी क्षेत्रमा व्यवसायिक पशुपालन विस्तार हुँदै गएको छ र दूध उत्पादनसँगै भण्डारण तथा बजार व्यवस्थापनको चुनौती पनि बढेको छ ।

मनहरी गाउँपालिकाले केही समयअघि मात्रै सहकारीमार्फत दूध खरिद–बिक्री व्यवस्थापन सुरु गरेको थियो । त्यसअघि जिल्ला सहकारी संघमार्फत कारोबार हुँदा प्रतिलिटर ३ रुपैयाँसम्म कमिशन कट्ने गरेको स्थानीयको भनाइ छ । अहिले भने गाउँपालिकाको प्रत्यक्ष समन्वयमा त्यो खर्च घटेर प्रतिलिटर ५० पैसामा सीमित भएको दाबी गरिएको छ ।

गाउँपालिकाले ‘कृषि उपज खाता’ सञ्चालन गरेर दूध बिक्रीका आधारमा किसानबाट प्रतिलिटर ५० पैसाका दरले रकम संकलन गर्दै आएको छ । हालसम्म उक्त खातामा करिब २५ लाख रुपैयाँ जम्मा भइसकेको गाउँपालिकाले जनाएको छ । सोही रकमलाई सहकारीको पूर्वाधार विकास, चिस्यान व्यवस्थापन र किसानहितका कार्यक्रममा खर्च गर्ने नीति लिइएको छ ।

स्थानीय किसानहरूका अनुसार पछिल्लो समय नियमित भुक्तानी प्रणाली लागू भएपछि पशुपालन व्यवसायप्रति विश्वास बढेको छ । गाउँपालिकाले दुग्ध उद्योगहरूसँग समन्वय गरेर किसानलाई प्रत्येक १५ दिनमा भुक्तानी सुनिश्चित गरेको जनाएको छ । यसले किसानलाई नगद प्रवाहको समस्या कम गर्न सहयोग पुगेको छ ।

मनहरीका केही युवाहरू, जो वैदेशिक रोजगारीबाट फर्किएका छन्, अहिले व्यवसायिक पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाका अनुसार हाल मनहरी क्षेत्रमा दैनिक करिब १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

स्थानीय तहले किसानबाट उठेको रकमलाई फेरि कृषिक्षेत्रमै लगानी गर्ने अभ्यास ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ । कृषि क्षेत्रमा अनुदान बाँड्ने परम्परागत शैलीभन्दा फरक, उत्पादनसँग प्रत्यक्ष जोडिएको पूर्वाधारमा लगानी गर्न थालेपछि किसानले स्थानीय सरकारप्रति भरोसा बढेको बताएका छन् ।

यद्यपि, विज्ञहरू भने केवल पूर्वाधार निर्माणले मात्रै कृषि क्षेत्र दिगो नहुने बताउँछन् । पशु आहारको लागत, बजारको स्थायित्व, प्राविधिक सेवा र उत्पादन मूल्यको सुनिश्चितता पनि सँगसँगै आवश्यक हुने उनीहरूको भनाइ छ ।