काठमाडौँ । बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी साताको अन्त्यमा देशका विभिन्न भूभागमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा भारीदेखि धेरै भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ।
विभागका मौसमविद् राजन महर्जनका अनुसार साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ। उक्त अवधिमा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ।
साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ। ती प्रदेशका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी हिमपात हुन सक्ने मौसमविद् महर्जनले बताए। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना छ।
पहाडी भूभागमा साताको अन्त्यमा वर्षाको मात्रा बढ्ने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
तराईमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा सुदूरपश्चिमका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही तराई क्षेत्रमा भारी वर्षाको सम्भावना पनि रहेको छ।













