काठमाडौँ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता जोगाएको एसियन क्रिकेट काउन्सिल (एसीसी) ले जनाएको छ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले एकदिवसीय मान्यता जोगाएको उल्लेख गरेको हो।
एसीसीको आधिकारिक फेसबुक पेजमा नेपाल र ओमानबीचको खेलको नतिजासहित राखिएको पोस्टमा नेपालले महत्त्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो एकदिवसीय मान्यता जोगाएको जनाइएको छ।
यद्यपि, एसीसीले यस्तो उल्लेख गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भने नेपालले एकदिवसीय मान्यता सुरक्षित गरेको विषयमा छुट्टै औपचारिक घोषणा वा प्रतिक्रिया सार्वजनिक गरेको छैन। आईसीसीको आधिकारिक फेसबुक पेजमा नेपालले ओमानमाथि महत्त्वपूर्ण जित निकालेको भन्दै पोस्ट गरिएको छ। तर, उक्त पोस्टमा नेपालको एकदिवसीय मान्यताबारे उल्लेख छैन।
ओमानको अल अमेरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २८० रन बनाएको थियो। २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।















