मकवानपुर । बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गतका अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको संयोजनमा क्षतिग्रस्त तथा प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य टोली खटाइएको हो । बाढीका कारण उपचार सेवा प्रभावित हुन सक्ने तथा घाइते र बिरामीको संख्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर अस्पतालबाट चिकित्सकसहितको स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पठाइएको प्रदेश सरकारले जनाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार भक्तपुर अस्पतालबाट बाढीपीडितको उपचारका लागि स्वास्थ्यकर्मी सम्मिलित टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दिवाकर सुवेदी, जनरल सर्जन डा. विजय भट्ट, मेडिकल अधिकृत डा. कविकान्त चौधरी, आईटी इन्जिनियर दिपेश खड्का, स्टाफ नर्स संगिता प्याकुरेल र हेल्थ असिस्टेन्ट अलिसा पोट्रेल रहेका छन् ।
भक्तपुर अस्पतालबाट परिचालन गरिएको टोलीले बाढी तथा विपद्का कारण घाइते भएका तथा तत्काल स्वास्थ्य उपचार आवश्यक पर्ने बिरामीलाई उपचार सेवा उपलब्ध गराउनेछ । चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसँगै आईटी इन्जिनियरसमेत परिचालन गरिएकाले स्वास्थ्य सेवा व्यवस्थापन तथा आवश्यक प्राविधिक समन्वयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी, टोखा चण्डेश्वरी अस्पतालबाट त्रिशूलीतर्फ आकस्मिक स्वास्थ्य टोली परिचालन गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्काको नेतृत्वमा टोली त्रिशूलीतर्फ गएको हो ।
टोखा चण्डेश्वरी अस्पतालको टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सिबेश बर्मा, एनेस्थेसिया सहायक संगिता छत्कुली, स्टोरकिपर लीला बहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धो कुमारी राना र सवारी चालक उत्तरकुमार गुरुङ रहेका छन् । टोलीले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार आकस्मिक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । स्वास्थ्य सामग्री र औषधि व्यवस्थापनका लागि स्टोरकिपरसमेत टोलीमा राखिएको छ ।
बज्रबाराही अस्पतालबाट पनि आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । अस्पतालबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कासिन नेपाली, मेडिकल अधिकृत डा. आयुषजंग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स सण्डिला महतलाई प्रभावित क्षेत्रमा पठाइएको छ ।
बाढी तथा विपद्का बेला सामान्य स्वास्थ्य सेवासँगै चोटपटक, हाडजोर्नीसम्बन्धी समस्या, शल्यक्रिया तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीको संख्या बढ्न सक्ने भएकाले विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गरिएको हो । प्रदेश सरकारले अस्पतालमा कार्यरत जनशक्तिलाई प्रभावित क्षेत्रमा परिचालन गरी तत्काल स्वास्थ्य सेवा पुर्याउने प्रयास थालेको जनाएको छ ।
बाढीका कारण प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा उपचार सेवामा समेत असर पर्न सक्ने अवस्थामा प्रदेशअन्तर्गतका अस्पतालबाट जनशक्ति परिचालन गरिएको हो । आकस्मिक स्वास्थ्य टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थानीय आवश्यकताका आधारमा उपचार तथा स्वास्थ्य सेवामा सहयोग गर्नेछ ।












