मकवानपुर । एम्स्टर्डम कृत्रिम बुद्धिमत्ता (एआई)को विकास, प्रयोग, नीति र भविष्यबारे विश्वव्यापी बहस गर्ने उद्देश्यले नेदरल्याण्ड्सको एम्स्टर्डममा ‘विश्व एआई सम्मेलन’ सुरु भएको छ।
सम्मेलनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष तथा दुर्भाष मिडिया प्रालिका अध्यक्ष एवं सम्पादक कृष्ण सारू मगरसहित नेपालका आधा दर्जन मिडिया प्रतिनिधिको सहभागिता रहेको छ ।
एम्स्टर्डमस्थित टिट्स आर्ट एण्ड इभेन्ट पार्कमा सुरु भएको सम्मेलन अक्टोबर ७ र ८ सम्म सञ्चालन हुनेछ। सम्मेलनमा विश्वभरबाट प्रविधि विज्ञ, अनुसन्धानकर्ता, उद्यमी, सञ्चार क्षेत्रका प्रतिनिधि तथा नीति निर्माताहरू सहभागी भएका छन्।
सम्मेलनको उद्घाटन सत्रमा आयोजक संस्था इन्सपायर्ड माइण्ड्सकी प्रबन्ध निर्देशक तथा सम्मेलनकी प्रमुख सञ्चालन अधिकृत जाइसी जर्मरले सम्बोधन गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए । आयोजकका अनुसार यस वर्षको सम्मेलनमा विश्वभरबाट ४ हजारभन्दा बढी सहभागी तथा एआई क्षेत्रका २ सयभन्दा बढी विज्ञ र चिन्तक सहभागी छन्।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै उत्पन्न भएका अवसर र चुनौतीमाथि केन्द्रित भएर विभिन्न सत्रमा छलफल भइरहेको छ। एआई सुरक्षा, नयाँ प्रविधिको विकास, नीतिगत नियमन, एआईको जिम्मेवार प्रयोग तथा समाजमा कृत्रिम बुद्धिमत्ताले पार्ने प्रभाव सम्मेलनका प्रमुख विषय छन्।
एआई प्रविधि शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग, व्यापार, प्रशासन तथा अनुसन्धानलगायतका क्षेत्रमा तीव्र रूपमा प्रयोग भइरहेका बेला यसको सुरक्षित, जिम्मेवार र प्रभावकारी प्रयोगबारे विश्वव्यापी बहस आवश्यक बनेको छ। सम्मेलनले प्रविधिको विकाससँगै नीति, नियमन र मानवहितबीच सन्तुलन कायम गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ।
विश्वभर एआईको प्रयोग विस्तार भइरहँदा यसले रोजगारी, सूचना प्रवाह, गोपनीयता, साइबर सुरक्षा, सिर्जनशीलता र सामाजिक संरचनामा पार्न सक्ने प्रभावबारे पनि सम्मेलनमा विचार आदानप्रदान भइरहेको छ। विज्ञहरूले एआईबाट सिर्जित सम्भावनालाई उपयोग गर्दै त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य र स्पष्ट नीतिको आवश्यकतामाथि जोड दिइरहेका छन्।
सम्मेलनमा नेपालको सञ्चार क्षेत्रबाट समेत प्रतिनिधित्व भएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष मगरसहित नेपाली सञ्चारमाध्यमका प्रतिनिधिहरूले विश्वस्तरमा भइरहेको एआईसम्बन्धी बहस, नयाँ प्रविधि र सञ्चार क्षेत्रमा यसको प्रभावबारे जानकारी तथा अनुभव आदानप्रदान गर्ने अवसर पाएका छन्।

सञ्चार क्षेत्रमा एआईको प्रयोग बढ्दै गएको अवस्थामा पत्रकारिता र मिडियाका लागि यसको प्रभाव अझ महत्वपूर्ण मानिएको छ। समाचार संकलन, तथ्य परीक्षण, सामग्री उत्पादन, अनुवाद, डेटा विश्लेषण र डिजिटल प्रकाशनमा एआईको प्रयोग बढिरहेको छ। तर एआईबाट उत्पादित सामग्रीको विश्वसनीयता, गलत सूचना, स्रोतको प्रमाणीकरण र पत्रकारिताको नैतिक पक्ष चुनौतीका रूपमा देखिएका छन्। विश्व एआई सम्मेलनमा हुने छलफलले यस्ता विषयमा पनि सञ्चार क्षेत्रलाई नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ।
सन् २०१७ देखि सुरु भएको विश्व एआई समिट पछिल्लो समय एआईसम्बन्धी विश्वव्यापी बहसको महत्वपूर्ण अन्तर्राष्ट्रिय जमघटका रूपमा स्थापित हुँदै गएको आयोजकको दाबी छ। सम्मेलनले एआई विकासमा संलग्न विज्ञ, अनुसन्धानकर्ता, उद्यमी र नीति निर्माताबीच संवाद तथा सहकार्यका लागि साझा मञ्च प्रदान गर्दै आएको छ।
















