मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित राप्तीखोलाले बगाएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
मंगलबार बिहान करिब ७ः१० बजे राप्तीखोलाले एक व्यक्तिलाई बगाएर तलतिर लगिरहेको सूचना प्रहरीले पाएको थियो । सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
खोजी गर्ने क्रममा मकवानपुरको मनहरी गाउँपालिका-४ मसिने बस्ने अन्दाजी ७० वर्षीय बलबहादुर रुम्बाको शव फेला परेको हो । उनको शव हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित बस्तीपुर पुलभन्दा करिब ५०० मिटर तल राप्तीखोलाको बीचभागमा फेला परेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
उनका अनुसार रुम्बाको शव काठ र ढुंगाको बीचमा अल्झिएको अवस्थामा बिहान ७ः४५ बजे फेला परेको थियो ।












