धनुषा । धनुषामा एक युवकले आफ्नी पत्नीको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफैं झुण्डिएर आत्महत्या गरेका छन्। घटनामा दम्पतीका चार वर्षीय छोरा पनि घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार आइतबार बिहान मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा ३० वर्षीया रिनादेवी यादवको शव फेला परेको हो। उनको घाँटीमा धारिलो हतियारले प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।
रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी–२ सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। गणेशमान चारनाथ नगरपालिका–४ भरतपुर घर भएका उमेशले गएराति करिब पौने २ बजेतिर ससुराली घरमै गएर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ। उनी राति करिब ९ बजेतिरै ससुराली गएको खुलेको छ।
घटनामा दम्पतीका चार वर्षीय छोरा सम्राट पनि घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उमेश केही महिनाअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। घटनास्थलबाट रगत लागेको चक्कु बरामद भएको छ। रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ भने उमेशको शव घटनास्थलबाट व्यवस्थापन गरिएको छ।
इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक राजेश कुमार शर्मा अधिकारीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको कारण अहिलेसम्म खुलेको छैन। प्रहरी थप अनुसन्धानमा जुटेको छ।















