मकवानपुर । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीले घर, सम्पत्ति र अभिभावक गुमाएका बालबालिकाको भविष्य अन्योलमा परेको बेला हेटौँडाको एक विद्यालयले शिक्षामार्फत उनीहरूलाई सहयोग गर्ने भएको छ ।
सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी माध्यमिक विद्यालय, हेटौँडाले गत १० भदौमा रसुवामा आएको बाढीबाट प्रभावित १० जना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको हो ।
बाढीका कारण अभिभावक गुमाएका तथा ठूलो आर्थिक र भौतिक क्षति व्यहोरेका परिवारका ५ देखि १० वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयले पूर्ण आवासीय सुविधासहित छात्रवृत्ति उपलब्ध गराउने विद्यालयका सूचना तथा जनसम्पर्क अधिकृत एवं सहायक प्रधानाध्यापक श्यामकृष्ण ज्ञवालीले जानकारी दिए ।
विपत्तिका कारण आफ्ना छोराछोरीको नियमित पठनपाठन निरन्तरता दिन नसक्ने परिवारलाई लक्षित गरी यस्तो निर्णय गरिएको उनले बताए ।
‘विपत्तिले बालबालिकाको पढाइ रोकियो भने उनीहरूको भविष्यमा त्यसको असर अझ पर्न सक्छ । त्यसैले हाम्रो तर्फबाट सक्ने सहयोग शिक्षाबाट गर्ने निर्णय गरेका हौँ,’ ज्ञवालीले भने ।
विद्यालयले आफ्नो निर्णयलाई औपचारिकताका लागि जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा प्रतिबद्धतापत्र पेश गरिसकेको उनले जानकारी दिए ।
बाढीबाट विस्थापित र प्रभावित परिवारका बालबालिकालाई विद्यालयमा ल्याएर शिक्षा, आवास, खानपान र आवश्यक संरक्षणको व्यवस्था गरिने विद्यालयको योजना छ । विपत्तिपछिको पुनःस्थापनामा शिक्षा पनि राहतकै महत्वपूर्ण हिस्सा भएकाले दीर्घकालीन जिम्मेवारी बहन गर्न खोजिएको ज्ञवालीले बताए ।
विद्यालयले बाढीपीडितका लागि राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले शिक्षकहरूले आफ्नो एक दिनको तलब बराबरको दुई लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग समेत गरेका छन् ।












