मकवानपुर । जापानको व्यस्त दैनिकीबीच पनि उनीहरूको मन भने स्वदेशमै थियो। रोजगारी र अध्ययनका लागि हजारौँ किलोमिटर टाढा पुगेका मकवानपुरेहरूलाई रसुवा र नुवाकोटको सीमावर्ती क्षेत्रमा आएको विनासकारी बाढीको खबरले बेचैन बनायो। विपद्मा परेका आफ्नै देशका नागरिकको पीडामा केही गर्नुपर्छ भन्ने भावनाले उनीहरूलाई सहयोग जुटाउनेतर्फ डोर्यायो।
गत १० भदौमा रसुवा र नुवाकोटको टीमुरे क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि जापानमा रहेका मकवानपुरेहरूले आर्थिक सहायता पठाएका छन्। उनीहरूले मकवानपुरेहरूको संस्था ‘मकवानपुर जापान समाज’ मार्फत सहयोग रकम नेपाल पठाएका हुन्।
समाजका अध्यक्ष बच्चुराम अर्यालका अनुसार बाढीपीडितका लागि दुई फरक माध्यमबाट सहयोग गरिएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख जापानी येन अर्थात् ९७ हजार ९७ रुपैयाँ जम्मा गरिएको छ।
त्यस्तै, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिमार्फत बाढीबाट प्रभावित पत्रकारका लागि ३० हजार जापानी येन अर्थात् २८ हजार ६४४ रुपैयाँ सहयोग गरिएको छ।
‘विपद्को घडीमा स्वदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूको घाउमा मलम लगाउन जापानबाट यो राहत पठाएका हौँ ।’ अध्यक्ष अर्यालले भने ।
समाजका अनुसार जापानमा बसोबास गर्दै आएका मकवानपुरेहरूमध्ये करिब ५० प्रतिशतले व्यक्तिगत रूपमा नेपाल सरकारको सम्बन्धित खातामा सहयोग रकम पठाएका छन्। बाँकी करिब ५० प्रतिशतले भने संस्थागत रूपमा समाजको नाममा चन्दा सङ्कलन गरी सहयोग गरेका हुन्।
विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्मा सहयोग गर्ने यो प्रयासले प्रवासमा रहेका नेपालीबीचको सामाजिक सम्बन्ध र आपसी सहयोगको भावनालाई पनि देखाएको छ। रोजगारी र अध्ययनका लागि टाढा पुगेका मकवानपुरेहरूले बाढीपीडितको पीडालाई आफ्नै पीडाका रूपमा लिएर गरेको यो सहयोग रकममा आर्थिक मूल्यभन्दा ठूलो मानवीय संवेदना जोडिएको छ।
















