मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ ले विद्यालय तहका विद्यार्थीलाई व्यवहारिक तथा व्यवसायिक ज्ञानसँग जोड्ने उद्देश्यले सीपमूलक तालिम सुरु गरेको छ। वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ९ मा अध्ययनरत ७५ जना विद्यार्थीलाई सहभागी गराएर कपाल काट्ने, ब्युटी पार्लर तथा इलेक्ट्रिकल सम्बन्धी तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

तालिमको बिहीबार संयुक्त रूपमा उद्घाटन गरिएको हो। वडा कार्यालयका अनुसार तालिम जेठ र असार महिनाभर शनिबार र आइतबार सञ्चालन हुनेछ। विद्यार्थीलाई औपचारिक शिक्षासँगै व्यावहारिक सीप प्रदान गरी भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल ले वर्तमान समयमा विद्यालय शिक्षामात्र पर्याप्त नहुने भन्दै व्यवहारिक सीपको आवश्यकता बढ्दै गएको बताए। उनले अध्ययनसँगै कुनै न कुनै व्यवसायिक सीप हासिल गर्न सके विद्यार्थीको भविष्य थप सुरक्षित र आत्मनिर्भर बन्ने धारणा व्यक्त गरे।

‘समय परिवर्तनसँगै शिक्षाको स्वरूप पनि परिवर्तन हुनुपर्छ ।’ उनले भने, ‘विद्यालय तहदेखि नै सीपमूलक शिक्षा दिइयो भने विद्यार्थीले भविष्यमा रोजगारी खोज्ने मात्र होइन, आफैं अवसर सिर्जना गर्न सक्नेछन्।’

उनका अनुसार तालिममा सामुदायिक र संस्थागत दुवै विद्यालयका विद्यार्थीलाई समेटिएको छ। यसले विद्यार्थीबीच समान अवसरको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास वडा कार्यालयको छ। वडाले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ।

कार्यक्रममा बोल्दै भुटनदेवी माध्यमिक विद्यालय का प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे ले वडा कार्यालयले सुरु गरेको कार्यक्रम उदाहरणीय र समयसापेक्ष भएको बताए। उनका अनुसार विद्यालय तहमा पढाइसँगै व्यवहारिक ज्ञानको अभाव हुने समस्या लामो समयदेखि देखिँदै आएको छ।

‘विद्यार्थीले सिकेको सीपलाई व्यवहारमा उतार्न सके त्यसले भविष्यमा रोजगारी तथा स्वरोजगारको आधार तयार गर्न सक्छ ।’ उनले भने, ‘यस्ता तालिमले विद्यार्थीमा आत्मविश्वाससमेत वृद्धि गर्छ।’

त्यसैगरी, कार्यक्रमका सभाध्यक्ष तथा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष एवं श्रमिक माध्यमिक विद्यालय का प्रधानाध्यापक श्रीराम दाहालले विद्यालयस्तरमै सीपमूलक कार्यक्रम सञ्चालन गर्नु सकारात्मक अभ्यास भएको बताए। उनले विद्यार्थीहरूको उत्साहजनक सहभागिताले सीपमूलक शिक्षाप्रति आकर्षण बढ्दै गएको संकेत गरेको उल्लेख गरे।

उनले सीपमूलक शिक्षाले विद्यार्थीलाई केवल शैक्षिक प्रमाणपत्रमा सीमित नराखी व्यवहारिक जीवनका लागि सक्षम बनाउन मद्दत गर्ने धारणा व्यक्त गरे। ‘भविष्यमा प्रतिस्पर्धी बन्न केवल सैद्धान्तिक शिक्षा पर्याप्त हुँदैन ।’ उनले भने, ‘व्यावसायिक दक्षता र व्यवहारिक ज्ञान अहिलेको आवश्यकता हो।’

नेपालमा विद्यालय शिक्षालाई बढी सैद्धान्तिक भएको आलोचना भइरहेका बेला स्थानीय तहहरूले पछिल्ला वर्षहरूमा सीप र उद्यमशीलतामा आधारित कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन्। विशेषगरी किशोर अवस्थादेखि नै विद्यार्थीलाई व्यवसायिक सीपसँग जोड्न सके भविष्यमा बेरोजगारी समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हेटौँडा–४ को यो पहललाई स्थानीयस्तरमा शिक्षालाई व्यवहारिक जीवनसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ। अभिभावक र शिक्षकहरूले पनि यस्ता कार्यक्रमले विद्यार्थीको रुचि, आत्मविश्वास र सिर्जनशीलता विकास गर्न योगदान पुग्ने बताएका छन्।

कार्यक्रममा वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं, भुटनदेवी माध्यमिक विद्यालय का सहायक प्रधानाध्यापक भरत पोखरेल, वेदराज कोइराला लगायत प्रशिक्षकहरूको सहभागिता रहेको थियो।