मकवानपुर । काठमाडौंँबाट हेटौँडातर्फ आउँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्।

मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको ईभी माइक्रोबस मंगलबार दिउँसो करिब २ बजे सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा हालसम्म चार पुरुषको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। उनीहरूको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखतका लागि उद्धार तथा खोजी कार्य जारी छ।

दुर्घटनामा घाइते भएका चारमध्ये माइक्रोबसका चालक बाराको कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय अमिर अन्सारीको टाउको, दायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको र उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका–११ की करिब २३ वर्षीया कल्पना तामाङको ढाड, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। गम्भीर अवस्थामा रहेकी तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

बाराको महागढीमाई नगरपालिका–११ की करिब २१ वर्षीया बबिया कुमारी यादवको दायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, नाम, थर र ठेगाना नखुलेका करिब ३४–३५ वर्षीय एक पुरुष पनि दुर्घटनामा गम्भीर घाइते भएका छन्। बोल्न नसक्ने अवस्थामा रहेका उनलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम खत्रीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।