मकवानपुर । नेकपा एमालेका सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले पछिल्लो समय डिजिटल प्लेटफर्मको महत्व बढेको भन्दै पार्टीले यसबाट फाइदा लिने गरी सदुपयोग गर्नुपर्ने बताएका छन् ।
बुधबार मकवानपुकरो हेटौँडा–५ स्थित एमाले पार्टी कार्यालयमा आयोजित बागमती प्रदेश कमिटीको समन्वय बैठक तथा सम्पर्क कार्यालय उद्घाटनमा सम्बोधन गर्दै बस्नेतले सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधी आम नागरिक समक्ष पुर्याउँनुपर्नेमा जोड दिए ।
उनले सामाजिक सञ्जाललाई छुट्टै जनशक्तिको जिम्मामा मात्र छाड्नुभन्दा नेता तथा कार्यकर्ताले नै पार्टीका नीति, धारणा र उपलब्धिबारे प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।
पार्टी पुनर्गठनको प्रक्रिया नेतृत्व परिवर्तनमा मात्र सीमित नभएको उल्लेख गर्दै उनले संगठनात्मक संरचना, कार्यशैली, नयाँ पुस्ताको सहभागिता तथा डिजिटल माध्यममा पार्टीको प्रभाव विस्तारलाई समेत पुनर्गठनको प्रक्रियामा समेटिएको बताए ।
एमाले बागमती अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरु एका लाल श्रेष्ठ, भारती पाठक, महेश कुमार बर्तौला, लेखा आयोग सदस्य नवीन सिग्देल, एमाले मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामा लगायतको उपस्थिती थियो ।














