मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि १० लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेको छ।

प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र प्रदेश संसदीय दलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएको हो। दुवै रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरिएको कांग्रेस बागमती प्रदेश कार्यसमितिका सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए ।

सहमहामन्त्री श्रेष्ठले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सहयोग रकमको चेक पार्टीकी केन्द्रीय उपसभापति पुष्पा भुसाललाई हस्तान्तरण गरेका हुन् ।
बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश कार्यसमिति र संसदीय दलले संयुक्त रूपमा रकम उपलब्ध गराएको श्रेष्ठले बताए । उनका अनुसार विपद्का बेला प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार र पुनःस्थापनाका काममा सहयोग पुर्‍याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको हो।