मकवानपुर । रसुवाका पत्रकार निराजन पौडेलका लागि १० भदौको भोटेकोशी बाढी जीवनकै कालो दिन बनेर आयो । उनका लागि यो एउटा प्राकृतिक विपत्ति मात्र थिएन । यो दिनको बाढीले उनका बुवा, आमा, काका, काकी र बहिनीसहित परिवारका पाँच सदस्यलाई एकैपटक निल्यो । उनीहरूको साथमा घर, सम्पत्ति र वर्षौंको पारिवारिक स्मृतिसमेत नदीले बगाएर लग्यो ।

पौडेल अहिले काठमाडौंको टोखामा किरियामा छन् । आफन्त गुमाउनुको पीडा त छँदैछ, त्यसैमाथि आफ्नै घरबारसमेत नरहेको यथार्थले उनको शोक झनै गहिरो बनाएको छ । एकैपटक आफ्नो संसार उजाडिएपछि उनले भोगिरहेको पीडा शब्दमा अटाउन कठिन छ । पौडेल रातोपाटी डटकम अनलाइन पत्रिकामा कार्यरत पत्रकार हुन् । उनी नेपाल पत्रकार महासंघ रसुवा शाखाका सदस्यसमेत हुन् । स्थायी घर नुवाकोटको विदुर नगरपालिका-७, तुप्चे भए पनि रोजगारीका क्रममा काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका पौडेलको परिवार भोटेकोशीको बाढीको चपेटामा परेको हो ।

अरूका दुःख, पीडा र विपत्तिका कथा शब्दमा उतार्दै आएका पत्रकार स्वयं विपत्तिको कठोर कथाका पात्र बनेपछि सहकर्मीहरूको मन पनि उस्तै भारी भयो । यही पीडाको घडीमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति उनीसमक्ष पुगेर आर्थिक सहयोग गरेको छ ।
पौडेललाई मात्र होइन, बाढी तथा पहिरोबाट प्रभावित पत्रकार र उनीहरूका परिवारलाई महासंघले रसुवाका निराजन पौडेल, नुवाकोटका किरण अधिकारी, सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल तथा नुवाकोटका बेपत्ता पत्रकार राजकुमार नेपालीका परिवारलाई गरी एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । प्रभावित पत्रकार तथा परिवारको अवस्थाका आधारमा सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको महासंघका अध्यक्ष कृष्ण सारु मगरले बताए ।

महासंघ बागमती प्रदेशका अध्यक्ष मगरको अगुवाइमा नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल, धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीलगायतको समन्वयमा प्रभावित पत्रकारहरूलाई भेटेर सहयोग गरिएको हो ।

तर बाढीको असर पत्रकारको घरपरिवारमा मात्र सीमित छैन । उनीहरूले काम गर्ने सञ्चारमाध्यमसमेत विपत्तिको मारमा परेका छन् । सडक तथा यातायात अवरुद्ध हुँदा घटनास्थल पुगेर समाचार संकलन गर्न कठिन भएको छ । विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा समाचार सम्प्रेषणमै समस्या आएको छ । कतिपय पत्रकारका सञ्चार उपकरणसमेत क्षतिग्रस्त भएका छन् ।

विपत्तिको समयमा नागरिकलाई सूचना दिनु पत्रकारको दायित्व हो । तर, जब सूचना दिन दौडिने पत्रकार स्वयं विपत्तिमा पर्छन्, उनीहरूको सुरक्षा र पुनःस्थापनाको प्रश्न झनै महत्वपूर्ण बन्न पुग्छ ।

महासंघ अध्यक्ष मगरका अनुसार विपद्को समयमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सूचना प्रवाह गरिरहेका पत्रकारको सुरक्षा, सञ्चार सेवा, आवश्यक उपकरण तथा राहत र उद्धारका विषयमा सम्बन्धित निकाय गम्भीर बन्न आवश्यक छ ।
‘पत्रकार महासंघ सबै पत्रकारको अभिभावक संस्था हो,’ मगरले भने, ‘विपद्मा परेका पत्रकारको पुनःस्थापना र बेपत्ता पत्रकारको खोजीका लागि महासंघले आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।’

उनले प्रभावित पत्रकारलाई थप सहयोग गर्नसमेत अपिल गरेका छन् ।

भोटेकोशीको बाढीले रसुवा, नुवाकोट र धादिङमा पुर्‍याएको जनधनको क्षतिप्रति महासंघले दुःख व्यक्त गरेको छ । साथै बाढीमा फसेकाको उद्धार, बेपत्ताको खोजी तथा घाइतेको उपचारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।